कांग्रेस पदाधिकारी बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं । बिहीवार नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बस्ने भएको छ ।

आज दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।

आजको बैठकमा पूर्व निर्धारित एजेण्डाहरु, आगामी १४ औँ महाधिवेशन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवा समक्ष बुझाएको १६ बुँदे विरोधपत्रका बारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

यसअघि सोमवार पदाधिकारी बैठक बसेको थियो । मंगलवार पुनः बैठक बस्ने भनिएपनि पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवम् सांसद सूर्य बहादुर केसीको निधनका कारण विषयहरुमा प्रवेश नगरी शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो ।

गत असोज १२ गते पौडेल समूहले सभापति देउवाको पछिल्ला कदमहरुको विरोध गर्दै आरोपपत्र दर्ता गराएका थिए ।

यसैबीच भोली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । भोलिको बैठकका लागि पौडेल समूहले दर्ता गराएको विरोधपत्र साथै आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ । साथै भोली बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका र सरकारका पछिल्ला कदमविरुद्ध विरोधका कार्यक्रमहरु तय गर्ने विषयमा छलफल गरिने बताइएको छ भने पौडेल समूहले भने आफ्ना निर्णयहरुलाई प्राथमिकताका साथ हेर्न दवाव दिइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?