गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई उपचार भएन

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् ।

गत बुधबार कोरोना परीक्षण गर्दा काठमाडौंको कीर्तिपुर बस्दै आएका ४१ वर्षीय कपिल बस्नेतको रिपोर्ट पोजेटिभ आयो । उनलाई अत्यधिक ज्वरो आयो । पखाला पनि लाग्यो । उनी आत्तिए । उनलाई अस्पताल लैजान खोजिए पनि परिवारका सदस्यले कतै पनि शय्या खाली नभएको जवाफ पाए ।

कपिलका भाइ सबिन बस्नेतले भने, ‘दाइ धेरै बिरामी हुनुभयो, अस्पतालहरूमा धाएँ । तर धेरै अस्पतालले बेड खाली छैन भने । अनि नजिकैका चिकित्सकको सल्लाहमा दाइलाई औषधि खुवाएर घरमै राख्न बाध्य भयौं ।’
देशभर गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ७८ जना भेन्टिलेटरमा र २ सय ८३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?