तिहारको रौनक : पोषणयुक्त भाइ मसला घरमै बनाउनुहोस्, अनिवार्य यी चाहिन्छ चीज

काठमाडौं – तिहारले छपक्कै छोपिसक्यो । दशैँलगत्तै आउने यो चाड यसपटक केहि चिसो महशुस गर्दै मनाउनुपर्नेछ । किनकी यसपटक मलमास परेका कारण यी दुवै चाडबाड केहि पछि धकेलिएका हुन् ।

तिहार नजिकिएसँगै काठमाडौंको असन ईन्द्रचोकका पसलहरूमा भाइ मसला किन्नेको भीड बढ्न थालेको छ। व्यापारीहरुले भाइ मसलाका लागि अनिवार्य रुपमा प्रयोग गरिने विभिन्न चीजविजहरुको जोहो गरी भाइ मसला तयार पारी बजारमा बिक्रिका लागि राखिसकेका छन् । व्यापारीहरु कोरोनाको कहरका कारण पसलमा पारदर्शी प्लाष्टिकले बेरेर ग्राहक कुरीरहेका देखिन्छन् ।

तिहार नजिकिएसँगै राजधानीको पुरानो तथा व्यस्त व्यापारिक थलो असन ईन्द्रचोकदेखि सानातिना फुटपाथ पसलसम्ममा भाइमसला किन्नेको भीड बाक्लिन थालेको छ।

व्यापारीहरु फूटपाथमा पनि त्रिपाल ओच्छाएर विभिन्न साईजका मसला बिक्रिका लागि ग्राहक कुरिरहेका छन् ।

ठेलामा भाइमसला बेच्दै त्यहिँ तयार गरिरहेका एक व्यापारीले लोकपथसँगको कुराकानीमा भने, “भिडभाड भन्दा दिनहुँ थोरैथोरै भएपनि बेचिरहेको छु । आफूपनि जोगिनैपर्यो । लामो समय व्यापार भएन । चौपट छ ।” उनी सुनाउँछन् – “दशैँमा पनि केहि सामान गाडामा बेचेँ ।”

त्यसो त तिहारमा अनिवार्य झैँ प्रयोग हुने विभिन्न किसिमका फल र फूलहरू लामो समयसम्म नबिग्रने खालका हुन्छन्। यो तिहार चाडसँग जोडिएको महत्वपूर्ण किस्सा हो ।

दीर्घायुको कामना गर्दै मनाइने पर्व तिहार भएकाले यो समयमा प्रयोग हुने समाग्रीहरू त्यस्तै किसिमको भएको वनस्पतिविद्हरूको तर्क छ ।

तिहारमा नभइ नहुने फल कटुस, बयर, काजु, बदाम र किसमिस त्यस्तै बिमिरो र ओखर एवम् फूल मखमली लामो समयसम्म बिग्रदैनन् ।

साधारणतया फुटपाथमा ५०, १ सय र १ सय ५० रुपैयाँ पर्ने मसलाको प्याकेट पाइन्छ। अनलाईनमा नजर कुदाउने हो भने ५०० देखि २५०० सम्मका सामान पाईन्छ ।

केहि पसलमा किलोको हिसाबले पनि मसला बिक्री हुने गर्छ । धेरैजना दाजुभाई हुनेहरुले यो उपाय अपनाउँछन् ।

हुन त मानिसहरु कुकुर तिहारको दिनदेखि मात्रै मरमसला किनमेलका लागि पसलमा धाउँछन् । तर यसपटक विज्ञहरुले सकेसम्म आवश्यक सामाग्री तयार पारी घरमै बनाउने या त अनलाईन सपिङ गरेर काम चलाउने उपाय सुझाएका छन् । संस्कृतिविद्हरुले पनि चिकित्सकको सुझाव शिरोपर गरेर संस्कृतिको निरन्तरताको लागि मात्रै अनुरोध गरेका छन् ।

चाडबाडको बेला एकैपटक मानिसहरुको बाक्लो ओहोरदोहोर हुँदा अत्याधिक भिडभाडका कारण कोरोना सर्न सक्ने र तिव्र रुपमा फैलन सक्नेतर्फ तर्फ संकेत गर्दै विज्ञहरु भन्छन्, “एकातिर भिडभाड अर्कोतिर निरन्तको मुभमेन्ट । यसले संक्रमणको दर तिव्र रुपमा बढाउँछ ।”

त्यसैले व्यापारीहरुसँग सोधेर लोकपथले भाइ मसलामा अनिवार्य प्रयोग गरिने विभिन्न चिजहरुको ‘लिस्ट’ तयार पारेको छ । तपाई पनि कोरोनाको जोखिममा उच्च सावधानी अपनाउँदै यी सामाग्री आफैँले किनेर ल्याई घरमा नै भाइ मसला तयार पार्न सक्नुहुन्छ । यसो गर्दा स्वास्थ्यको दृष्टिकोणबाट पनि फाईदा हुन्छ भने पैसाको बचत, पोषणयुक्त खानेकुरा दाजुभाइलाई ख्वाउन पाईन्छ ।

भाइ मसलामा अनिवार्य प्रयोग गरिने कुराहरु
काजु
अल्मण्ड (ठूलो बदाम)
पेस्ता
ओखर (हाडे)
ओखर (दाँते)
नरिवल
मिश्री
अन्जिर
खुपार्नी
पान बुट्टे (मिश्री)
मखन (फुला)
दालचिनी
ल्वाङ

सुकुमेल
बयर
सुपारी
छोकडा (पहेँलो)
छोकडा (कालो)
कटुस
(चकलेट /चुईगम)

पसलमा यी सामाग्रीसँगै मसला प्याक गर्ने प्लाष्टिक पनि पाईन्छ । त्यससँगै एउटा मैनबत्ति पनि किन्नुहोस् । हरेक प्लाष्टिकमा आवश्यकता र तपाईको ईच्छाअनुसारका सामान राखि मैनबत्तिमा हलुका तातो दिएर त्यसलाई प्याकिङ गर्नुहोस् ।

शुभतिहार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?