प्रहरी र कुकुरको ‘दोस्ती’, ‘जोजो’ यसरी सघाउँछ प्रहरीको सर्च अप्रेशनमा

काठमाडौं – ‘जब तिमीलाई अगाडि हेर्न डर लाग्छ र तिमीले पछाडि फर्किन सम्भव हुँदैन । आफ्नो छेउमा हेर । म हुनेछु । ‘यो वाक्य काठमाडौं महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा झुण्ड्याइएको एक चित्रमा लेखिएको छ । चित्रमा प्रहरी र कुकुरको आत्मीयता देखाइएको छ । कुकुरले प्रहरीलाई माथिको कथन भनिरहेको छ, म तिमीलाई सघाउनेछु ।

नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा कुकुरको प्रयोग गरेको ५ दशक पुगिसक्यो । वि. सं २०२६ सालमा पहिलोपटक विदेशबाट ४ वटा कुकुर नेपाल प्रहरीले नेपाल भित्र्याएको थियो ।

त्यसपछि क्रमशः थप्दै जाँदा अहिले देशभरमा ९०  वटा भन्दा बढी तालिम प्राप्त कुकुरहरु छन् । कुकुरले पनि प्रहरीको ‘बेस्ट फ्रेन्ड’ बनेर अनुसन्धानमा सघाइरहेको प्रहरी बताउँछन् ।

नेपाल प्रहरीले कुकुरहरुको तालिम र रेखदेखका लागि छुट्टै शाखा स्थापना गरेको छ । महाराजगञ्जस्थित ‘नेपाल क्यानिन डिभिजन’ शाखामा कुकुरलाई तालिम दिनेदेखि गाँस, बास र मनोरञ्जनको वातावरण समेत प्रदान गरिएको छ ।

ती तालिम प्राप्त कुकरले उद्धार गर्ने, लागूऔषध पत्ता लगाउने, विस्फोटक पदार्थ पत्ता लगाउने र अपराध अनुसन्धानमा मद्दत पु-याउने गरेका छन् । यसैका आधारमा केन्द्रमा रहेका कुकुरलाई ४ वर्गमा विभाजन गरिएको छ ।’

चिन्नका लागि प्रत्येक कुकुरको फरक फरक नाम राखिएको छ । प्रत्येक कुकरको जिम्मेवारी छुट्टाछुट्टै प्रहरीलाई दिइएको छ । यसो गर्दा एक प्रहरीको भागमा एउटा कुकुर पर्दछ । उसलाई खेलाउने, तालिम दिने, अह्राउनेदेखि लिएर सम्पूर्ण जिम्मेवारी एकजना प्रहरीले निभाउने गरेका छन् ।

‘जोजो’ सर्च अप्रेशनमा यसरी सघाउँछ, प्रहरीलाई

काठमाडौंको गोंगबुस्थित नवज्योती मार्गमा भएको दाङका कृष्णबहादुर बोहोराको हत्या प्रकरण वा ललितपुरकी गितादेवी केशीको हत्या होस् वा काभ्रेको फूलबारीमा भैँसी व्यापारीको हत्या प्रकरण  ।  उच्च घ्राणशक्ति भएको जोजोले प्रहरीलाई सघाइरहेको छ ।

ट्रयाकर डग ‘जोजो’ को एक्सनले धेरैको मन जितेको छ । बेलारुसबाट ल्याएको हो, उसलाई ।

प्रहरी अधिकारी भन्छन्, ‘उसलाई ल्याउँदा ३ /४ महिनाको थियो । अहिले ५५ केजीको भएको छ ।”

‘ब्लड हन्ड’ नामक प्रजातिको यो कुकुरसाग सबैभन्दा धेरै सुँघ्न सक्ने घ्राण शक्ति हुन्छ । अमेरिकाको एफडिआई ले पनि यहि जातको कुकुर अनुसन्धानमा प्रयोग गर्छ । यसलाई ट्र्याकर तालिम दिईन्छ । यसको क्षमता अनुसारको डाईट बनाइएको छ । हरेक दिन १ केजीसम्म खानेकुरा दिईन्छ । एअरपोर्टदेखि भन्सारसम्म, जहाँ अपराध हुन्छ प्रहरीको सामुन्ने कुकुर खडा हुन्छ ।

अपराधी पत्ता लगाउन समाजमा घट्ने विभिन्न प्रकारका घटनामा सुँघेर वा विभिन्न माध्यमले प्रहरीलाई जोजोले सघाउँछ । तर कोरोनाको डरका कारण प्रहरीले यसपटक कुनैपनि औपचारीक कार्यक्रम राखेको छैन । अघिपछि रेखदेख गर्ने टोलीले नै ति तालिमप्राप्त कुकुरको पूजाआजा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?