होशियार ! दक्षिणामा पनि हुनसक्छ कोरोना भाइरस, यसरी बचौँ

काठमाडौं । कोरोना महामारीको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । एकबाट दोस्रोमा सजिलै सर्ने भएकोले यस भाइरसको आक्रमणबाट जोगिन मानिसहरु निकै लामो समय लकडाउनको नियम पालना गरेर बसे । कोरोनाको डरलाग्दो चित्रले मानिसहरुलाई यसरी तर्सायो कि उनीहरुले सकेसम्म भिडभाडबाट आफूलाई टाढै राख्न रुचाए । तर जब मानिसहरुलाई भोको पेटको समस्याले गाँज्न थाल्यो तब उनीहरु सडकमा उत्रिए । सरकारविरुद्ध प्रदर्शन गरे । यो घटना नेपालको मात्रै होईन । विश्व नै आक्रान्त भएको छ, कोरोनासँग । तैपनि अत्यावश्यक कामहरु र आफ्ना संस्कृति मूल्य मान्यताको निरन्तरता दिन मानिसहरुलाई घर बाहिर निस्कनैपर्ने बाध्यता हुन्छ ।

कागजमा पनि लामो समयसम्मै बाँच्ने कोरोना भाइरस हामीले दैनिक प्रयोगमा ल्याउने नोट वा रुपैयाँबाट सर्न सक्नेतर्फ भने सबैले ध्यान पुर्‍याउनुपर्छ । खासगरि चाडपर्वको समयमा बैंकबाट पैसाको कारोबार गर्न अथवा किनमेल गर्न निक्लिनुनै पर्ने बाध्यता रहेको हुँदा यो कुरामा यसपटक निकै ध्यान दिनुपर्ने देखिन्छ ।

बैंक होस् अथवा कुनै पनि वित्तीय संस्था होस् अहिले कोरोनाको जोखिम सर्वत्र फैलिएको छ । यस्तो अवस्थामा मानिसहरुलाई पैसाको आवश्यकता पर्ने नै छ साथै जोखिम पनि उत्तिकै हुने देखिन्छ ।

संक्रमण बढ्दै जाँदा बैंकको लाइन भन्दा २ दिन लगाएरै भएपनि एटिएम प्रयोग गर्न सल्लाह दिँदै आइएको छ । एटिएम मेसिनको प्रयोग गर्दापनि केहि हदसम्म जोखिम हुने कारणले मोबाइल अथवा इन्टरनेट बैंकङको प्रयोगलाई प्रथमिकतामा राखिएको छ । पैसामा पनि लामो समयसम्म कोरोना भाइरस जिवित रहने कारणले हातमा पैसा निरुत्साहित गरिएको छ ।

चेक र क्यासबाटै कारोबार गर्नु परेको अवस्थामा स्यानीटाइजर लगायतको सुरक्षा मापदण्ड अवलम्बन गर्न अनिवार्य गरिएको छ । विषेशगरी संघिय राजधानी कोरोना संक्रमणको केन्द्रविन्दु बन्दै गर्दा काठमाडैंमा उच्च सर्तकताको अझ बढि आवश्यक्ता रहेको छ ।

नजिकिदै गरेको तिहारको दक्षिणा पनि पैसा नै हुने गरेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मले सोही रकम प्रयोग गर्ने गरेका छन् र भर्खरै अष्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार पैसामा कोरोना भाइरस २० दिन भन्दा पनि धेरै जिवित हुने देखाएको छ ।

यस्तोमा बालबालिकाहरु मुखमा पैसा लग्ने जस्ता क्रियाकलापहरुलाई रोक्न सकिन्न ।

तसर्थ कोरोना भइरसको जोखिम न्यूनीकरण गर्न सकेसम्म कागजी नोटको प्रयोग नगर्ने, गर्नै परेको अवस्थामा सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर मात्रै प्रयोगमा ल्याउनुपर्छ । अझ चाडबाडमा प्रयोग गरिने रुपैयाँ पैसाको कारोबार एकदमै सुरक्षित बनाउनुपर्छ ।

  • बृद्धबृद्धा होस् अथवा आफ्नै दाजुभाई तथा दिदि बहिनी कसैसँग पनि टिका थापेपछि दक्षिणा हातमा नलिने
  • बालबालिकाको दक्षिणा बैंकमा राखिदिने
  • टिकाटालो गर्दा आउने पैसा छुने चलाउने, थुक लगाउने जस्ता काम नगर्ने ।
  • बैंकिङ प्रणालीमा जाँदा नोट पनि जतन हुने, सुरक्षा पनि अपनाउन सकिने, बृद्धबृद्धा, बालबालिका, अप्रेसन गरेका अशक्तता भएकाहरुलाई कोरोनाको जोखिम बढी भएका कारण यसपटक कागजी वा सिक्का पैसा रुपैयाँको कारोबारलाई निरुत्साहन गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?