नयाँदिल्ली । लचिलो लकडाउन भएर पनि संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
उनले भारतमा औसतमा ८८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएको सोमवार जानकारी दिए ।
लकडाउन लचिलो भएर पनि संक्रमणमुक्त हुनेहरुको यो संख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उहाँको दावी छ ।
ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ ।”
“हाम्रो जनसंख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या अत्यन्त कम छ,” उनले थपे ।
प्रधानमन्त्री मोदीले भारतमा संक्रमितहरुको संख्या दिनप्रति दिन घट्दै गइरहेको र संक्रमणमुक्त भएकाहरुका संख्या पनि उच्च रहेको बताए ।
उनले भने, “यति धेरै जनसंख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत संक्रमित भएकाहरुको संख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।”
मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सबैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दावी गरे ।
“हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,” उनले भने । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया