मुस्ताङ : जहाँ छैन हालको अवस्थामा ‘एक्टिभ केस’

काठमाडौं । नेपालका ७७ जिल्ला मध्ये हाल एउटा मात्र जिल्ला कोरोना संक्रमण मुक्त भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार हाल नेपालको मुस्ताङ जिल्लामा मात्र कोरोना संक्रमित छैनन् ।

बितेको २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ८७५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यो कुल संक्रमितको ६९.७ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३९ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २६ हजार ४०८ जना र संस्थागत आईसोलेसनमा १२ हजार ९३३ जना छन् । तिमध्ये ३०१ जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८३१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके, दाङ र कास्की गरि १२ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ७३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (शनिवार) नेपालमा ३ हजार १६७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ८०० जना संक्रमणमुक्त भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?