भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको सौडोलस्थित देवी माध्यमिक विद्यालयको भवन आज एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
एशियाली विकास बैंक ९एडिबी० को आर्थिक सहयोग, केन्द्रीय कार्यान्वय इकाई र जिल्ला आयोजना इकाई (शिक्षा) को समन्वयमा निर्माण कार्य सम्पन्न भएको सो विद्यालयको भवन आज हस्तान्तरण गरिएको हो । जिल्ला आयोजना इकाई (शिक्षा) का प्रमुख भरतबहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र विद्यालयका प्रधानाध्यापक राजाराम छुँकांलाई संयुक्त रुपमा विद्यालय भवनको साँचो हस्तान्तरण गरे ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले उक्त विद्यालयको भवन क्षति भएपछि बालबालिकालाई अध्ययन गर्न समस्या हुँदै आएको थियो । एशियाली विकास बैंककोे रु। तीन करोड ७३ लाख ७७ हजारको सहयोगमा निर्माण भएको सो भवन आधुनिक सुविधा सम्पन्न रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
उक्त भवनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता रहेको बताए। भूकम्पप्रतिरोधी अत्याधुनिक भवन पाएपछि त्यसको सदुपयोगमा विद्यालयले ध्यान दिनुपर्ने बताउँदै उनले सरकारले पठनपाठनबारे आवश्यक बन्दोबस्त नगर्दा अहिले लाखौं विद्यार्थी पढाइबाट बञ्चित हुनु परेको आरोप लगाए ।
सांसद सुवालले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको समयमा अझ बढी आत्मनिर्भर अर्थतन्त्रको जरुरी रहेको उल्लेख गर्दै यसतर्फ सरकार सम्वेदनशील हुनुपर्नेमा जोड दिए ।
जिल्ला आयोजना इकाई (शिक्षा)का प्रमुख श्रेष्ठले गुणस्तरीय शिक्षा दिने उत्कृष्ट विद्यालयको रुपमा परिचित यो विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै ठाउँ अभाव भएकोमा अब भने त्यो समस्या समाधान हुने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकलाले विद्यालयले दिने शिक्षालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन विद्यालय परिवार एकतावद्ध भएर लागिरहेको बताए ।
विद्यालयका प्रधानाध्यापक छुँकांले कूल छ सय पाँच विद्यार्थी अध्ययनरत विद्यालयले नयाँ भवन पाएसँगै शैक्षिक क्रियाकलापलाई सहज रुपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “भूकम्पका कारण भवन क्षति हुँदा ठाउँ अभाव भएको थियो, हामीले सात कोठे भवन पाएपछि समस्या हल भएको छ ।”
विद्यालयका शिक्षक राजेन्द्रकुमार साखकर्मीले विद्यालयले समयानुकूल गुणस्तरीय शिक्षामा जोड दिइरहेको जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया