बागलुङ । बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । भवनको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गरे ।
सो अवसरमा मन्त्री गुरुङले स्थानीय तहले विकास खर्च बढाउनुपर्ने बताए । उनले समृद्ध नेपालका लागि राज्य र नागरिक एक अर्काप्रति जवाफदेही बन्नुपर्ने धारणा राखे । “करको दायरा पनि बढाउने र सोही अनुसार राज्यले नागरिकका सबै सेवा, सुविधाको जिम्मा लिनुपर्छ”, मन्त्री गुरुङले भने । प्रशासनिक भवनका लागि प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाले दुई करोड बजेट विनीयोजन गरेको छ ।
आउँदो आवमा पनि थप बजेट छुट्टाउने मन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले पाँच करोड १८ लाख, ५४ हजारमा भवनको ठेक्का सम्झौता भएको बताए । काठमाडौँको माउण्ट संयुक्त निर्माण कम्पनीले भवन बनाउने जिम्मा पाएको छ । ५४ कोठासहितको तीन तले भवन १८ महिनाभित्र सक्ने लक्ष्य छ । बडिगाड–५ खार बजारमा भवन बन्न लागेको हो । गाउँपालिकाको केन्द्र बस्ने भएपछि स्थानीयवासीले निःशुल्क जग्गा दिएका थिए ।
“गाउँपालिकाको भवन नहुँदा भाडाको घरमा बस्नुपर्ने बाध्यता अब हट्नेछ, भवन निर्धारित समयमै बनाइछाड्छौँ”, गाउँपालिका अध्यक्ष पाइजाले भने । शिलान्यास समारोहमा प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’, इन्द्रलाल सापकोटालगायत जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया