बास्तोलालाई ‘ऋषि लिला पत्रकारिता’ पुरस्कार

कास्की । पोखरा बृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषि लिला पत्रकारिता पुरस्कार २०७७’ बाट राष्ट्रिय समाचार समिति ९रासस० गण्डकी प्रदेश कार्यालयमा कार्यरत पत्रकार हरि बास्तोला पुरस्कृत हुने भएको छ ।

पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिक तथा सडक मानवबारे निरन्तर आवाज उठाउँँदै आएका बास्तोलालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले बताए । पुरस्कारको राशी २० हजार रहेको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल संयोजक तथा पत्रकारहरु माधव पनेरु र दुर्गा अधिकारी सदस्य रहेको प्रतिभा सिफारिस समितिले बास्तोलालाई पुरस्कार प्रदान गर्न सिफारिस गरेपछि वृद्धाश्रमले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

केही दिनमा विशेष समारोहकाबीच सो पुरस्कार बास्तोलालाई प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए । अध्यक्ष पराजुलीले आफ्ना माता पिताको स्मरणमा सो पुरस्कार स्थापना गरेका थिए । सो पुरस्कारबाट यसअघि पत्रकार चट्याङ, मास्टर र दीपेन्द्र श्रेष्ठ पुरस्कृत भईसकेका छन्

बास्तोला यसअघि गजेन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार, आदित्यध्वज पत्रकारिता पुरस्कार, प्रेस चौतारी कास्की पत्रकारिता पुरस्कार, नेपाल पर्वतारोहण सङ्घबाट सञ्चालित पत्रकारिता सम्मानलगायत पुरस्कारबाट पुरस्कृत भईसकेका छन् । विसं २०४५ मा राससबाट उनले पत्रकारिता शुरु गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?