ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रवार उहाँमा कोरोना पोजेटिभ देखिएको थियो ।
असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहनुभएका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना हुनुभएको प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराए । उनले भने, “ आज दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।” मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका थिए।
केही वडाध्यक्ष संक्रमित
महानगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र नं १९ का वडाध्यक्ष विनोद ताम्राकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
ज्वरो आउने र थकाइ लाग्ने भएपछि १८ गते स्वाब परीक्षण गराउँदा आज कोरोना पोजेटिभको नतिजा आएको ८ नं का वडाध्यक्षले बताएका छन् । उनले भने, “ मेरी पत्नी ज्ञानमाया महर्जनमा पनि कोरोना पोजेटिभ देखिएर हामी दुवै होम आइसोलेसनमा बसेका छौँ ।”
रुघाखोकी लागेर असोज १३ गते स्वाब परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको १२ का वडाध्यक्षले बताए । उनले भने, “मेयर सापलाई कोरोना देखिनु केही दिनअघि हामी उहाँसँगै एक बैठक बसेका थियौँ । उहाँमा कोरोना पोजेटिभ देखियो भनेर आफ्नो पनि परीक्षण गराउँदा नतिजा पोजेटिभ नै आयो ।” ज्वरो आउने र खानाको स्वाद थाहा नपाउने भएपछि १६ गते स्वाब परीक्षण गराउँदा १८ गते कोरोना पुष्टि भएको नं १९ का वडाध्यक्षको भनाइ छ ।
महानगरपालिकाका केही कार्यालय बन्द
असोज २० देखि २७ गतेसम्मका लागि ८ नं वडा कार्यालय र १९ गतेदेखि एक हप्ताका लागि १९ नं वडाकार्यालय पूर्ण रुपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षले जानकारी गराए ।
वडामा कोभिड संक्रमित बढेसँँगै बिहीवारदेखि २५ गतेसम्मलाई वडाका सम्पूर्ण सेवा बन्द गरिने भएको २० नंका वडाध्यक्ष चन्द्रलाल महर्जनले बताए । उनले भने, “आउँदो आइतबारसम्म संक्रमितको सङ्ख्या नियाल्छौँ र त्यसपछि पनि थप बढेको बढै गरेमा स्वास्थ्य सावधानी अपनाएर वडामा पुनः सेवा दिन थाल्नेछौँ ।” अन्य केही वडाध्यक्ष पनि कोरोनाको शिकार भएका कारण आफूलगायत कर्मचारी यसबाट मुक्त रहन सकून् भनेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि वडा बन्द गरिएको महर्जनको भनाइ छ ।
अष्टमातृका र मानमानेश्वरीको खड्गजात्रामा विधिवत् पूजा मात्र
पाटनमा मनाइने अष्टमातृका नाच र विशेष बडादशैंँमा मनाइने मानमानेश्वरी भवानीको खड्गजात्रामा यस वर्ष विधिवत् पूजा मात्र गरिने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आज जारी गरेको सूचनामा ती पर्वमा भीडभाड हुने गरी बाजागाजा बजाउने, जम्मा हुने काम नगरिने उल्लेख छ ।
धार्मिक परम्परानुसार गरिदैँ आएको विधिवत् पूजालाई निरन्तरता दिइने र अन्य उत्सव नगर्ने निर्र्णय गुठी संस्थान शाखा कार्यालय ललितपुर, जात्रा र पर्वसँग सम्बन्धित सरोकार संस्था र स्थानीय गुठीयारसँग बैठक बसी गरिएको महर्जनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया