रेडियो एफएम स्थापना

सिञ्जा । गुठीचौर गाउँपालिकाले आफ्नै लगानीमा रेडियो एफएम स्थापना गरेको छ । स्थानीय जनतामा सूचनाको पहुँच बढाउने उद्देश्यले जुम्ला जिल्लास्थित उक्त गाउँपालिकाले स्थापना गरेको ९८दशमलव ४ मेगाहर्जको उक्त एफएमले परीक्षण प्रशारण गर्न थालिसकेको छ ।

उक्त एफएमका लागि रिलेटावर स्थापना गर्न सो गाउँपालिकाले बजेटसमेत विनियोजन गरिसकेको छ । रेडियो स्थापनाका लागि हालसम्म २४ लाख लगानी भइसकेको र अन्य आवश्यक उपकरण र क्षमता विस्तारका काम भइरहेको जनाइएको छ ।

कोराना भाइरस रोकथामलगायत विकास तथा निर्माणका विभिन्न सूचना सम्प्रेषणका लागि यो एफएमले सहज गराएको र गाउँपालिकाको कार्यविधि अनुसार नै यो कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले स्थानीय निकायका हरेक गतिविधि जनताले थाहा पाउने अधिकार सुनिश्चित गर्न यो एफएम सहज हुने जानकारी दिए। उक्त एफएम चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिकासहित अन्य आसपासका क्षेत्रबाट पनि सुन्न सकिने जनाइएको छ ।

रेडियोमा काम गर्ने कर्मचारीहरुको सेवा र सुविधा सुनिश्चितताका लागि कार्यविधि बनाई गाउँसभाबाट पारित गर्ने तयारी भइरहको छ । रेडियोको रिलेटावर निर्माण पछि यसको क्षमता विस्तार भइ जाजरकोट, मुगु र डोल्पामा समेत यसको पहुँच पुग्ने उक्त गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष जानुदेवी ऐडीले हामीले गरेका विकास निर्माणका काममा स्थानीय जनताले पनि सहजै थाहा पाउन सकुन् भन्ने उद्देश्यले रेडियो एफ स्थापनालाई प्राथमिकतामा राखिएकोे जानकारी दिए।

रेडियोमार्फत संचार क्षेत्रको मूल्य र मान्यतालाई पनि प्राथमिकता दिइने जानकारी दिँदै उनले यो परीक्षण प्रशारणलाई छिटै नियमित गरिनेमा जोड दिए। स्थानीय तहले स्थापना गरेको जिल्लामा यो पहिलो रेडियो एफएम हो ।

गाउँमै रेडियो स्थापना भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । स्थानीयवासी उमेश न्यौपानले संचारमाध्यम लोकतन्त्रको ठूलो हिस्सा भएको र अव सञ्चार क्षेत्रका सबै गतिविधि सहजै सुन्न सहज हुने प्रतिक्रिया दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?