माले । माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलवार जानकारी गराएका छन् ।
सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल चलान नगर्दासम्म अदीब पूर्व राष्ट्रपति अब्दुल्ला यमीनको घनिष्ठ सहयोगी मानिन्थे ।
फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवर्द्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो । उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन (व्यवसायिक रकम) प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो ।
अदीब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमीनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर भएपछि गत वर्षको नोभेम्बरदेखि नै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमीन अहिले जेलमा छन् ।
“अदीबले अनुसन्धानमा राज्यलाई सहयोग गर्दै अदालती अनुसन्धानमा सहयोग गर्नुभएको थियो तर अदालती सुनुवाईका क्रममा लेनदेनको आधारमा मुद्दालाई आफ्नो हितमा पार्न खोजेको आरोप अदालतका एक अधिकारीले लगाए । अदीबलाई सुनाइएको २० वर्षको सजाय उनले गरेको अपराधको लागि न्यून सजाय भएको ती अधिकारीले बताए ।
अदीबलाई फौजदारी अदालतले निर्दोष ठहर गरेको थियो तर सरकारी अभियोजनकर्ताहरूले उक्त मुद्दामाथि उच्च अदालतमा पुनरावेदन गरेपछि यसमाथि थप अनुसन्धान तथा सुनुवाई भएको थियो ।
पूर्व पर्यटनमन्त्री रहेका अदीवलाई यमीनले उप राष्ट्रपति नियुक्त गर्नुभएको थियो । तर दुबै जना निर्वाचनपछि सत्ताबाट बाहिरिनु परेको थियो ।
सन् २०१५को सेप्टेम्बरमा राष्ट्रपतिको डुङ्गामा भएको विस्फोटपछि यमीनको हत्या गर्ने प्रयास गरेको आरोपमा अदीबलाई १५ बर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, सन् २०१८ को पुनः निर्वाचनमा अभियानमा यमीनको पराजयपछि अदीबमाथि लागेको हत्या प्रयासको आरोप हटाइएको थियो ।
गत वर्ष अगस्टमा भ्रष्टाचार आरोप लागेका अदीबले अवैध रूपमा देश छोडी छिमेकी मुलुक भारतमा शरण लिन चाहेका अदीबलाई भारतले शरण नदिने बताएपछि उहाँमाथि लागेको आरोपमाथिको सुनुवाईका लागि उनलाई माल्दिभ्सतर्फ नै फर्काइएको थियो ।
यमीनले आफ्नो पाँच बर्षे कार्यकालमा सबै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कि त जेलमा थुनेर राखेको थियो कि उनीहरू निर्वासन बस्न बाध्य पारिएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया