कोरोना संक्रमण रोकथाममा सरकार उदासिन भयो : डा. प्रकाशशरण महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकार पुरै उदासिन रहेको आरोप लगाएको छ ।

पार्टीका सहमहामन्त्री समेत रहेका कोभिड-१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षण र आइसोलेसनको व्यवस्था सरकारले नगरेको उनले बताएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको बेला सरकारले बस्नका लागि आइसोलेसनका लागि समुचित व्यवस्था नभएको, डेरामा बस्ने वा घरैमा बस्नेहरुका लागि समेत कुनै मापदडको व्यवस्था नभएको उनले बताएका छन् । जसका कारण कोरोना जोखिम थप बढेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

“विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको छ र यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ ।” उनले भने ।

कोरोना संक्रमण देखिएकाहरुका लागि बस्न सरकारले वेवास्ता गरेको भन्दै सरकारी निकायमा फोन गर्दासमेत सम्पर्कबाट सरकारी पक्ष पन्छिएको आरोप डा महतले लगाएका छन् । जसको कारण संक्रमितहरुले आफूले रोग लुकाएर बस्नुपरेको अवस्था आएको उनले बताए । उनले भने, “कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परिक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ ।” उनले थपे, “जसका कारण ती संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेको छ ।”

मापदण्ड अनुसार संक्रमितहरुलाई बस्ने व्यवस्था गरि सरकारले आइसोलसनको तत्काल समुचित व्यवस्था गर्न उनले माग गरेका छन् । साथै, जो संक्रमितहरुमा कोभिड–१९ को लक्षणहरु देखिएका छन्, उनीहरुलाई पनि अस्पतालमा उपचारको समुचित व्यवस्था गर्न सरकारसँग कांग्रेसले माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?