भक्तपुर । मध्यपुरथिमि नगरपालिका २ सानोठिमीस्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढङ्गेधारा एवं पाटी संरक्षण गर्दा उल्दै मध्यपुरथिमि नगरपालिकालाई समस्या परेको छ । ठेकेदारले भत्काएको पाटी र पुरिएको ऐतिहासिक ढुङ्गेधारा उत्खनन् गरी पुनःनिर्माण गर्ने नगरपालिका विरुद्ध नै अभियन्ताका नाममा सर्वोच्च अदालतमा मुद्दा परेको बताइएको छ ।
नगरपालिकाले सम्पदा संरक्षण गरेवापत मुद्दा खेप्नु परेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठको भनाई छ । फल्चा लिने गःहिटी अर्थात पार्टी पछिको धाराको नामले चिनिने यहाँको १०० वर्ष भन्दा पुरानो परम्परागत ऐतिहासिक ढुङ्गेधारा पाटी पेप्सीकोला–सानोठिमी सडक २० मिटर चौडामा विस्तारको क्रममा सडकको मापदण्डमा परेको जनाउँदै ठेकेदारले गत मंसिर १४ गते भत्काएको थियो । सम्पदा भत्काउदा नगरपालिकालाई जानकारी समेत नदिई त्यसको पुराना इँटा र सामाग्री समेत संरक्षण नगरी ठेकेदारले डोजर लगाएर जथाभावी रुपमा पाटी भत्काउनुको साथै ढुङ्गेधारा पुरेको थियो । डेढवर्ष अगाडि भत्काएको पाटी र धाराको विषयमा पुनःनिर्माण पछि भएको विवादकाबारेमा जानकारी दिदै उनले भने, “पाटी पछाडि धारा थियो, सडक बिस्तारको क्रममा ठेकेदारले डोजर लाएर पाटी भत्कायो, धारा पुरियो, तीनदिन पछि मैले त्यो थाहा पाउने बित्तिकै गएँ, आफै बसेर पुरिएको धारा उत्खनन् गराएँ, त्यसपछि स्थानीय उपभोक्ता समिति गठन गरेर परम्परागत शैलीमा धाराको पुनःर्निर्माण सकियो, धारा पछाडि परम्परागत शैलीमा पार्टी पनि पुनःर्निर्माण गरियो, तर छाना हाल्ने बेलामा सुनुयोजित रुपमा अभियन्ताको नाममा विवाद ल्याए ।”
अभियन्ता अनिश बैद्यको टोलीले सम्पदा मासिएको जनाउँदै नगरपालिकाले धारा र पाटी बनाएकोमा विरोध गर्दै आएको छ । “ऐतिहासिक सम्पदाको मौलिकता बिगार्न हुँदैन भन्ने हाम्रो मान्यता हो, पुनःनिर्माणकोक्रममा सम्पदा सारियो, स्वरुप उल्टो भयो”, उनले भने, “धारा अगाडि फल्चा हुनुपर्छ मौलिकता मेटिनु हुदैन पुरानै अबस्थामा सारिनु पर्छ भन्ने हाम्रो माग हो ।” नगरपालिकाको कामको विरुद्ध गतभदौ २ गते सर्वोच्च अदालतमा मद्दा हालेको जनाउँदै उनले नगर प्रमुखश्रेष्ठसँग पुरानै अवस्थामा सार्न पहल गर्दा अटेर गरेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भने पानी आइरहेको ऐतिहासिक ढुङ्गे धारालाई पर सार्दा पानी आउन रोकिन सक्निे भएकाले त्यही ठाउँमा कलात्मक ढुङ्गेधारा बनाएर त्यसको पछाडि पाटी बनाएको बताए ।
ठेकेदारसंग केही व्यक्तिले पार्टीलाई अन्यत्रै सारेर प्रतिक्षालय बनाउने सहमति गरेको पाईएपछि त्यही ठाउँमा पाटी बनाउनु पर्छ भनेर आफै लागेको बताउदै उहाँले भन्नुभयो, “पाटीलाई धारा अगाडि बनाउँदा सडकमा पुग्छ, कालोपत्र सडकमा पाटी बनाउने कुरा हुँदैन, यो कुरालाई पनि पक्कै अदालतले मनन् गर्ला ।” ठेकेदारले डोजर लगाएर १०० वर्ष भन्दा पुरानो ऐतिहासिक सम्पदामा पुर्दा नदेख्ने पुरातत्व विभागले सम्पदा संरक्षण गर्दै पुरानै शैलीमा ढुङ्गेधारा र पार्टी पुनःर्निर्माण गर्दा भने रोक लगाउन खोजेको उहाँको भनाइ छ । नगर प्रमुख श्रेष्ठले भने, “ऐतिहासिक सम्पदा पुर्दा पुरातत्व कहाँ थियो र अहिले रोक्न खोज्छ, आओस् पुरानै ठाउँमा पुरातत्वले बनाओस्, कालोपत्र सडकमा पुरातत्वले पाटी बनाउन सक्छ ? हामी रोक्दैनौ, तर आफू पनि संरक्षण नगर्ने, स्थानीय सरकारले गर्दा पनि रोक्न खोज्ने, पुरातत्वको यो शैली शंकास्पद छ ।” एकवर्ष अगाडिदेखि नै धारा बनेको र डेढमहिना अघिदेखि पाटी बनाउँदा केही नबोल्नेहरु अहिले अभियन्ताका नाममा प्रपोगण्डा गर्दै छानो छाउने बेलामा रोक्न आएको उनले आरोप लगाउनुभयो । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा १२ वटा ढुङ्गेधारा पुनःनिर्माण र जिर्णोद्वार गरिएको जनाउँदै उनले सम्पदा सरक्षणमा अबरोध आउन नहुने नगर प्रमुख श्रेष्ठ बताउँछन् ।
सांसद कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा वाग्मति प्रदेश सदस्यहरु शशीजंग थापा, डा। राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी लगायतको टोलीले उक्त निर्माणको अनुगमन गरेको थियो । अनुगमपछि प्रदेश सदस्य थापाले सम्पदा जोगाउने काममा नगरपालिकाले खेलेको भूमिका राम्रो रहेता पनि यसको विरोध हुनु दुःखद रिहेको बताए ।मध्यपुरथिमि नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष राम थापामगर सम्पदा जिर्गोद्वारमा कमिकमजोरीलाई हटाउँदै उक्त धारो र पार्टीको मौलिकता जोगाउन सबै लाग्नु पर्ने बताए ।
उपभोक्ता समितिका अध्यक्ष ध्रुव थापामगरले भने पाटी र धाराको उपभोग गर्ने स्थानीयले बिरोध नगरेको र परम्परागत र मौलिक शैलीमा धारा यथास्थानमा र धारा पछाडि पाटी निर्माण गरेको जनाए। स्थानीय बासिन्दा राम श्रेष्ठले आफूले बच्चादेखि नै यहीँ धाराको पानी पिउदै आएपनि बाटो बिस्तारको क्रममा पुरिएको धारो नगरपालिकाले फेरी त्यहीँ ठाउँमा बनाएर मुहान सफा गरेर पानी आउने बनाउँदा स्थानीय खुशी भएको बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया