काठमाडौं – अन्तत खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको पद्मश्री पुरस्कार तथा सम्मान यसपटकका लागि रद्ध गरिएको छ ।
पद्मश्री पुरस्कारबाट पुरस्कृत उपन्यास ‘हंस’ का लेखक सञ्जीव उप्रेतीले सम्मानित गर्न लागिएका साहित्यकार मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार लिन नसक्ने बताएपछि साहित्यकार मोदनाथ प्रश्रितले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै पद्मश्री सम्मान ग्रहण नगर्ने भनि विज्ञप्ति निकालेका थिए ।
यो विवादले सामाजिक सञ्जालमा चका बहस नै सिर्जना गरेको थियो ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले मध्यरात एक विज्ञप्ति जारी गर्दै यस वर्षको पद्मश्री पुरस्कार तथा पद्मश्री सम्मान रद्द गर्ने निर्णय गरिएको जानकारी गराएका हुन् ।
पद्मश्रीबाट पुरस्कृत र सम्मानित दुबै स्रष्टाले पुरस्कार र सम्मान नलिने घोषणा गरेपछि उनले एक विज्ञप्ती जारी गर्दै लेखेका छन् :
‘’खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानद्वारा वि.स.२०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र वि.सं.२०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यस वर्ष पनि मिति २०७७।०६।११ मा घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ । यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दु:खी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने छ ।”

’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया