दमौली । आँबुखैरेनी गाउँपालिका–३ मा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका प्राविधिक सहायक दिनकरमणि आचार्य आफै सडकमा निस्किएर तरकारी तथा फलफूलका गाडी रोक्छन्। तरकारी तथा फलफूलका गाडीमा विषादीको मात्रा परीक्षण गर्न उहाँ आफै नमूना सङ्कलन पनि गर्छन् ।
विगत डेढ वर्षदेखि आचार्यको दैनिकी यसरी नै चलिरहेको छ । प्रयोगशालामा एक्लो प्राविधिक भएकाले उनलाई यो कामको बाध्यता छ । एक्लो कर्मचारीको भरमा प्रयोगशाला सञ्चालन हुँदा समस्या भइरहेको आचार्यको भनाइ छ ।
तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७६ साल वैशाख ८ गते गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीमा उक्त प्रयोगशाला स्थापना गरेको थियो । स्थापनाकालदेखि नै आचार्यले तरकारीमा विषादीको मात्रा परीक्षण गर्दै आएका छन् । “हालसम्म अन्य कर्मचारीको व्यवस्था नहुँदा एक्लै काम गरिरहेको छु, सबै काम एक्लै गर्नुपर्दा समस्या हुने रहेछ,” उनले भने, “तरकारीको नमूना सङ्कलन गर्नेदेखि परीक्षण गर्नेसम्मका काम गर्नुपर्छ ।”
विशेषगरी रातको समयमा तरकारी बोकेका गाडी प्रदेश भित्रिने भएकाले सो समयमा नै प्रयोगशालामा विषादीको परीक्षण हुँदै आएको छ । “कार्यालयमा म बाहेक एक जना महिला कर्मचारी कार्यालय सहयोगीको रुपमा हुनुहुन्छ,” प्राविधिक सहायक आचार्यले भने, “उहाँलाई रातिमा काममा बोलाउन पनि अप्ठ्यारो भएकाले सबै काम एक्लै गर्दै आएको छु ।” तरकारीमा विषादी भए÷नभएको परीक्षण प्रयोगशालामा २० मिनेटमा हुने गर्दछ । ३५ देखि ४५ प्रतिशत भन्दा बढी विषादी भए उक्त तरकारीलाई क्वारेन्टिनमा राखिन्छ । “त्यस्ता तरकारी तीनदेखि चारदिनसम्म क्वारेन्टिनमा राखेर परीक्षण गरिन्छ, त्यसबीचमा विषादीको मात्रा घट्यो भने तरकारी पठाउने गरेको र नभए नष्ट गर्ने गरिएको छ,” उनले भने, “पैतालिस प्रतिशतभन्दा माथि आयो भने क्वारेन्टाइनमा राखेर दुई पटक परीक्षण गरिन्छ, त्यसबीचमा पनि विषादीको मात्रा नघटे नष्ट गरिन्छ ।”
एक्लै हुँदा समस्या भएपछि कर्मचारीको दरवन्दी थप गर्न मन्त्रालयमा अनुरोध गरिएको उनको भनाइ छ । “मन्त्रालयमा पटक पटक यस बारेमा जानकारी गराएको छु,” उनले भने, “चालु आर्थिक वर्षमै कार्यालय व्यवस्थापनको काम हुने र कर्मचारी दरबन्दी थप हुने विश्वास छ ।” अस्थायी रुपमा स्थापना भएको प्रयोगशाला स्थायी रुपमा सञ्चालन गर्न प्रकृया शुरु भएको आचार्यले बताए ।
लकडाउनपछि पुनः शुरु भयो परीक्षण
कोभिड–१९ का कारण भएको बन्दाबन्दीका कारण रोकिएको विषादी परीक्षण शनिबारबाट पुनः शुरु भएको छ । शनिवार ६ वटा सवारी साधनमा ल्याइएका तरकारीको विषादीको मात्रा परीक्षण गरिएको छ । परीक्षण गरिएका तरकारी विषादीरहित पाइएको छ ।
“पहिला नियमित परीक्षण हुँदै आएकामा लकडाउनका कारण समस्या भएर रोकिएको थियो,” उनले भने, “अब नियमित सुचारु हुन्छ ।” आचार्यका अनुसार एकदिनमा बढीमा २० वटा गाडीमा ल्याइएका तरकारी तथा फलफूलको विषादीको मात्रा परीक्षण गरिएको छ । आँबुखैरेनी गाउँपालिकाको मुख्य बजारमा भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको छ ।
प्रयोगशाला स्थापनाको क्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले प्रयोगशालाका लागि तत्कालै कर्मचारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । तर कार्यालय स्थापनाको डेढ वर्षसम्म पनि प्राविधिक थप हुन सकेको छैन । प्रयोगशालामा गण्डकी प्रदेशमा भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य पदार्थ परीक्षण गर्ने लक्ष्य राखिएको थियो । सरकारले स्याङ्जाको गल्याङ नगरपालिकाको मालुङ्गामा समेत प्रयोगशाला स्थापना गरेको छ ।
तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापना भएको दु्रत विषादी अवशेष परीक्षण केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुई करोड ९९ लाख बजेट विनियोजन गरिसकेको छ । प्रयोगशालालाई पशुपक्षी रोग नियमन गर्ने प्रयोगशालाको रुपमा समेत सञ्चालन गर्ने सरकारको लक्ष्य छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया