नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४ सय ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५० हजार ४ सय ११ रहेको छ । कुल संक्रमित मध्ये ७२.७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ९ हजार ८२३ जना र संस्थागत आईसोलेसनमा ८ हजार ६१४ जना छन् । तिमध्ये २३२ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५६५ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४५३ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १७ जनाले ज्यान गुमाएका छन् ।

हिजो (बुधवार) नेपालमा १ हजार १७२ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ८२३ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?