काठमाडौं । सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच भनाभन नै चल्यो ।
केपीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै छैन । त्यो कुरा प्रष्ट छ । अहिले पनि प्रष्ट भयो । त्यसैले उहाँसँग छलफल गर्नुपर्छ ’
अनि, वामदेव जंगिए, ‘तपाईंको कारणले म कति अपमानित भएँ, भनिसाध्ये छैन † तपाईंले मेरो कुरा सिरियस्ली लिँदै लिनुहुन्न । पहिला पनि चुनाव हराउनुभयो । हारेपछि छानबिन गर्नुभएन । राष्ट्रिय सभामा लैजानुअघि चुनावको अत्तो थापेर छिर्के लगाउन खोज्नुभयो । लैजाने निर्णय भएपछि पनि लग्नुभएन । अहिले राष्ट्रिय सभामा लगेपछि पनि आलोचना गरिरहनुभएको छ, जबकि डिफेण्ड गर्नुपर्ने हो ।’ वामदेवले ‘मलाई मन्त्रीमा लगे पनि लग्नुस्, नलगे पनि नलग्नुस्’ भन्दै आफ्नो कुरा टुंग्याए ।
मन्त्रिपरिषद् पुनर्गठन, पार्टीका आन्तरिक व्यवस्थापन हल गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनसहितका एजेण्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठकको दृश्य हो यो ।
आइतबार पेरिसडाँडामा बैठक बसिरहँदा वामदेवसँगको भनाभनबाहेक प्रधानमन्त्रीको प्रस्तुतिकरण अरु दिनको भन्दा फरक रह्यो । उनी सहमतिबाट अगाडि बढ्न तत्पर रहेको भाव र भाषामा प्रस्तुत हुँदा अरु नेताले पनि बैठकमा सहजता अनुभूत गरे ।
नेकपा स्रोत भन्छ, ‘पार्टीभित्र ७ महिनादेखि चलेको विवादपछि आफू प्रधानमन्त्रीमा सुरक्षित भएको कुराले हुनसक्छ, प्रधानमन्त्री अबका दिनमा व्यवस्थापकीय पक्षलाई आफ्नो अनुकूल हुने गरी अधिकतम् उपयोग गर्ने नीतिमा छन् । त्यसका लागि सचिवालयभित्र सहमतिसाथ जान तयार भएको सन्देश दिएका छन् । यस्तो गर्दा सचिवालयले उनका कतिपय मनोगत आकांक्षामाथि क्षमा वा अनुमति दिने सम्भावना रहन्छ ।’ जनआस्था साप्ताहिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया