जीप खोलाले बगाउँदा एक जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौं-  बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कपिलवस्तुको कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार जीप खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । २ जना वेपत्ता भएका छन् ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण कोइली खोलामा आएको बाढिले बुधबार दिउँसो जीप बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्का कर्मचारी केशव भाटक्षेत्री रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

वाणगंगा नगरपालिका वडा नं। ९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार बा १ च १०८९ पजेरो जीप बगाएको हो । नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र गजहेडाको जीप कोइली खोलाले बगाउँदा ३५ वर्षीय चालक माधव प्रसाद पाण्डेको मात्र शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

जीपमा सवार दुई जना वेपत्ताहरुको खोजवीनका लागि थप सेनाको टोली घटनास्थलतर्फ पुगेको बताइएको छ । जीप खोलामा डुवेपछि जनपद प्रहरी र शसस्त्र प्रहरी उद्धारमा खटिएका थिए ।

उनीहरुले खोलामा डुवेको जीप भित्रबाट चालकको शव वाहिर निकालेको शसस्त्र प्रहरी बेस पिपराका प्रहरी निरिक्षक अर्जुन ढकालले बताउनुभयो । जीपमा सवार ६ जना मध्ये ३ जना पौडी खेलेर बाच्न सफल भएका छन् ।

विद्युत कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाँच्न सफल भएका थिए । उद्धारका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली घटना स्थलमा खटिएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले बताए ।

यद्यपि आज साँझ भएकोले खोलामा हराईरहेका थप दुई जनाको शव निकाल्न गाह्रो भएको छ । बुधबार विहान मात्र सोही पुलमा आएको बाढीले स्थानीय देवीराम पोखरेलको लु १२ प ३५०३ नम्बरको होण्डा बाइक बगाएको थियो । उक्त बाइकलाई स्थानीयले उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?