जैसवालको मृत्यु प्रकरण : वीर अस्पताल र केन्द्रिय कारागारले दिए प्रष्टिकरण

काठमाडौं – कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टिकरण दिएको छ ।

असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रिय कारागारले बताएको छ ।

घटनाका विषयमा जानकारी दिन आज भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बाँस्कोटाले तीनदिन देखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरु रहेको, सुन्निएको र नाकमुख बाट तरल पदार्थ बगेको देखिएको बताए।

शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा शवमा सो लक्षणहरु देखिएको उनको भनाई छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रमक समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सिसिभिटी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको र बाँकी पोष्टमार्टम रिपोर्ट पछि थाहा हुने बताए ।

वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पु¥याइएका जैसवाल जीवित रहेको कुनै पनि लक्षण नरहेको बताए । अस्पतालमा कुनै पनि प्रकारको उपचार नभएपनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रह अनुसार पीसीआर परीक्षण गरिएको बताए।

वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मि मौसम भएकाले शव सुनिने, फोका आउने, विभिन्न भागमा दाग देखिएको बताए। बाहिर आएजस्तो शरीरमा कुनै चोटपटक भएको, आँखा निकालिएको भन्ने कुरा सहि नभएको उनको भनाई छ ।

अस्पतालको फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठले तीन दिनपछि शव सुन्निएको, फोकाहरु देखिएको, मुख सुन्निएर चिन्नै नसकिने अवस्था भएको, जिब्रो बाहिर निकालेको र मुख र नाकबाट रगत बगेको देखिएको बताए । भित्रि समस्या के थियो भन्ने कुरा पोष्टमार्टमपछि थाहा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?