काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप ४९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधवार काठमाडौं उपत्यकामा थपिएका ६३७ जना कोरोना संक्रमित मध्ये ४९२ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनासहित देशभर ४२६ महिला र ७४६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ९ हजार १८६ जना र संस्थागत आईसोलेसनमा ८ हजार २२८ जना छन् । तिमध्ये २२० जना संक्रमितको आईसियु र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १०४ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४३६ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।
हिजो (मंगलवार) नेपालमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको थियो । ८२३ जना संक्रमणमुक्त भएका थिए भने २ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया