थप १ हजार ८९३ जना कोरोना संक्रमण मुक्त हुँदा ११७२ संक्रमित थपिए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप एक हजार ८९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४९ हजार ९५४ रहेको छ ।
हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनासहित देशभर ४२६ महिला र ७४६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ९ हजार १८६ जना र संस्थागत आईसोलेसनमा ८ हजार २२८ जना छन् । तिमध्ये २२० जना संक्रमितको आईसियु र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १०४ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४३६ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।

हिजो (मंगलवार) नेपालमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको थियो । ८२३ जना संक्रमणमुक्त भएका थिए भने २ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?