सुनगोहोरो जस्तो देखिने दुर्लभ वन्यजन्तुसहित २ जना पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट सुनगोहोरो जस्तो देखिने दुर्लभ बन्यजन्तुसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा गाउँपालिका-६ बस्ने २१ वर्षीय बिशाल तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय सुबास तामाङ रहेका छन् ।

उनीहरुलाई प्रहरीले सोमबार साँझ मुलपानीबाट करिब १.५ इन्च लामो जिउँदो अवस्थामा सुनगोहोरो जस्तो देखिने दुर्लभ बन्यजन्तुसहित पक्राउ गरेको हो ।

मुलपानी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भएका मोहन तामाङको कोठामा दुर्लभ बन्यजन्तु बिक्री गर्ने उद्देश्यले लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी त्यहाँ पुगेको थियो ।

खोजतलासको क्रममा लुकाई राखेको अवस्थामा उक्त वन्यजन्तु फेला पारी सोही कोठामा बसिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहन भने फरार रहेको र उनीको खोजी भइरहेको छ ।

उक्त वन्यजन्तु आवश्यक कानूनी कारबाही तथा थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?