काठमाडौं । पहाडी जिल्ला लमजुङवासीले अब यातायातसम्बन्धी काम जिल्लाबाटै पाउने भएका छन् । गाडीको ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिटलगायत कार्य अब जिल्लाको पूर्वाधार विकास कार्यालयबाटै हुने भएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नै कार्यालयको एक्सन रुमबाट लमजुङका सेवाग्राहीको ब्लुबुक नवीकरण रसिद प्रिन्ट गरे ।
पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले स्कुटरको ब्लुबुक नवीकरण गर्न जानुभएका पहिलो सेवाग्राही बेसीसहर–८ का यज्ञनारायण श्रेष्ठलाई हस्तान्तरण गरे। अब जिल्लाका पूर्वाधार विकास कार्यालयबाट ब्लुबुक नवीकरण, सवारी साधन कर सङ्कलन, सवारी जाँचपास, रुट परमिट नवीकरण, सवारी आयकर र पटके रुट परमिटसम्बन्धी सेवा उपलब्ध हुने पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए । लमजुङमा अब सवारी चालक अनुमति पत्र र नयाँ गाडीको दर्ता बाहेक सबै काम हुने प्रमुख गिरीको भनाइ छ ।
यसअघि पोखराको कास्की, बागलुङ, तनहुँको डुम्रेमा मात्रै यातायात व्यवस्थाका सेवा उपलब्ध थिए । गण्डकी प्रदेश सरकारले स्याङ्जा, लमजुङ र गोरखामा यातायात व्यवस्था सम्बन्धी सेवा थप गरेको हो । यो थप सेवाले यातायात व्यवसायीलाई थप सहज र उत्साहीत बनाएको छ । जिल्लावासीले यातयात सेवाका लागि पोखरा धाउनुपर्ने बाध्यता हटेपछि उत्साहित भएका छन् ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया