किन हुन सकेन कुलमानको नियुक्तीबारे निर्णय ?

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तीबारे निर्णय हुन सकेन ।

उर्जामन्त्री वर्षमान पुन अनन्तले घिसिङको पुनर्नियुक्तीबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङबारे केही कानूनी परामर्श गर्नुपर्ने बारे प्रश्न उठाएका छन् ।

प्रम ओलीले घिसिङबारे कानूनी प्रश्न उठेकाले तत्काल नियुक्ती दिन नहुने बताएपछि आजको लागि उक्त विषय सेलाएको हो । आजको बैठकमा प्रम ओली आफूले घिसिङबारे थप कानूनी परामर्श गर्न बताएपछि मुल एजेण्डाका विषयमा प्रवेश नभएको स्रोतले जनाएको छ ।

घिसिङको ४ वर्षे कार्यकाल आज (सोमवार) बाट सकिएको छ । दैनिक १८ घण्टा लोडसेडिङको अन्त्य र घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका घिसिङलाई पुनर्नियुक्ती गर्नको लागि जनदवाव रहेको छ ।

घिसिङलाई पुनः नियुक्तीको माग राख्दै राजधानीको माइघर मण्डला लगायत देशभरका धेरै स्थानहरुमा दिप प्रज्वलन समेत गरिएको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान खोल्नेदेखि नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेसम्मको निर्णय गरेको छ । सरकारले जनश्वास्थ्यको मापदण्डलाई पालना गर्दै आगामी असोज ५ गतेदेखि आन्तरिक उडान तथा अन्तरजिल्ला लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?