काठमाडौं । पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले ठुलो संख्यामा कर्मचारी निकालेको छ । भैरहवास्थित सिल्भर हेरिटेज ग्रुपद्वारा सञ्चालित होटलले भैरहवा र काठमाडौंमा कार्यरत ४२३ जना कर्मचारीहरुलाई विभिन्न बाहाना देखाउँदै कामबाट बञ्चित गरेको हो ।
होटलले भैरहवामा कार्यरत ३९३ जना र काठमाडौंमा कार्यरत करिब ३० जना कर्मचारीलाई कामबाट निकालेको सिल्भर हेरिटेज टाइगर प्यालेस रिसोर्ट कर्मचारी युनियनका अध्यक्ष रोशन गुरुङले बताए ।
कोरोना महामारीका कारण व्यवसायमा असर परेको र कर्मचारीको तलब तथा सुविधा धान्न नसकेकाले कर्मचारीलाई निकाल्नु परेको कम्पनीले जनाएको छ ।
पाँचतारे होटलका कर्मचारीले न्यूनतम १० हजार रुपैयाँ पारिश्रमिक पाउने सहमती सहित होटल एसोसिएसन नेपाल(हान) ले सहमती गरेको थियो । तर कम्पनीले कर्मचारीसँग कुनै सहमती नगरी कर्मचारी निकालेको अध्यक्ष गुरुङको आरोप रहेको छ ।
नेपालमा कोरोनाको महामारी शुरु भएसँगै होटल र कर्मचारी युनियनबीच सम्झौता भएको थियो ।
सम्झौता अनुसार सबै कर्मचारीको आफ्नो स्यालरीको ५० प्रतिशत रकम उपलब्ध गराउने सम्झौता भएको थियो । सोही अनुसारले कम्पनीले असार महिनासम्मको सम्झौता बमोजिमको ५० प्रतिशतले हुन आउने पारिश्रमिक दिएको थियो ।
गुरुङका अनुसार हाल कम्पनीले नेपाली कर्मचारीलाई कामबाट निकाली विदेशी कर्मचारीहरुलाई प्राथमिकता दिएको छ ।
श्रम ऐन(२०७४ को दफा १४५ (५) मा श्रमिकको संख्या कटौती गर्न सबैभन्दा शुरुमा विदेशी श्रमिक निकाल्नु पर्ने व्यवस्था छ ।
तर कम्पनीले विदेशी श्रमिक ननिकाली नेपाली कर्मचारीहरुलाई शुरुमा निकालेको गुरुङको आरोप रहेको छ ।
साथै हाल कम्पनीमा बाँकी रहेका १२ विदेशी कर्मचारी कार्यरत पारिश्रमिक पनि निकै धेरै दिइरहेको छ ।
कम्पनीले नेपाली कर्मचारीको तुलनामा विदेशी कर्मचारीहरुलाई ५० गुणा बढीसम्म तलब दिएको गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया