काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३७७ जना, भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जना रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमित संख्या ५३ हजार १ सय २० पुगेको छ ।

हालसम्म नेपालमा कुल कोरोना संक्रमित मध्ये ७० दशमलव ६ प्रतिशत अर्थात ३७ हजार ५ सय २४ जनामा कोरोना मुक्त भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मात्र ८ सय ५२ जनामा कोरोना मुक्त भएका हुन् । हाल नेपालमा १५ हजार २ सय ६० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

नेपालमा कोरोनाको कारण थप १४ जनाको मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ३ जना महिला र ११ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलाहरुमा पर्साकी ७८ वर्षीया, काठमाडौंकी ७६ वर्षीया र तनहुँकी ७६ वर्षीया महिलाहरु रहेका छन् । त्यस्तै मृत्यु हुने पुरुषहरुमा सुनसरीका ४३ वर्षीय, काठमाडौंका ५१,५४,७२ र ३८ वर्षीय, ६१ वर्षीय, स्याङ्जाका ८५ वर्षीय, गोरखाका ४५ वर्षीय, कास्कीका ५१ वर्षीय, रुपन्देहीका २ जना ४० र ६० वर्षीय पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?