अपडेट : भक्तपुर घटना केहीदिन अघि नै भएको हुनसक्ने

काठमाडौं । भक्तपुरमा विभत्स रुपमा भेटिएको एकै परिवारका तीन सदस्यसहित एक कुकुरको शव गन्हाएको अवस्थामा भेटिएका कारण घटना केहीदिन अघि नै भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

मृतकका भाई सुनिल अधिकारी घरमा जाँदा घरको दोस्रो तल्लामा सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा छोरा सुशान्त अधिकारीको शव र त्यसभन्दा माथिल्लो तलामा बुबा सुदिप अधिकारीको शव गन्हाएको अवस्थामा भेटिएकाले घटना केही दिन अघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

आज (शुक्रवार) साँझ भक्तपुरको निकोसेरा मध्यपुर ठिमि स्थित एकै परिवारका तीन सदस्यसहित घरमा पालेको कुकुर मृत अवस्थामा फेला परेको खबर पाए लगत्तै अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव आफ्नै घरमा गन्हाएको फेला परेको हो । प्राप्त जानकारी अनुसार सोही घरमा पालेको कुकुर पनि मृत अवस्थामा फेला परेको छ ।

घटना कस्ले, किन र कहिले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले लोकपथलाई जानकारी दिए । “शवहरु अति नै गन्हाएको अवस्था छ, हाम्रो टोली घटनास्थलमा छ”, एसएसपी थापाले थपे, “घटनाको क्लू खोजिरहेका छौँ, थप जानकारी अनुसन्धानपछि उपलब्ध गराउँछौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?