भारतमा एकै दिन झण्डै ९६ हजार जना संक्रमित थपिए

नयाँदिल्ली । कोरोना भाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना संक्रमित थपिएका छन् ।

एकै दिन यति धेरै संक्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीवार जानकारी दिएका छन् ।

पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भेटिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल संक्रमित मध्ये नौ लाख १९ हजार १८ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् ।

मन्त्रालयका अनुसार अरु ३४ लाख ७१ हजार ७८४ जना भने कोरोना भाइरसबाट संक्रमणमुक्त भइसकेका छन् ।

भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतका प्रदेशहरु मध्ये सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा २३ हजार ८१६ जना संक्रमित भएका छन् ।

महाराष्ट्रमा अहिलेसम्म कुल नौ लाख ६७ हजार ३४९ जना संक्रमित भएका छन् भने ती मध्ये दुई लाख ५२ हजार ७३४ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् ।

त्यहाँ अहिलेसम्म २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य विभागले जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?