भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित

नयाँदिल्ली । कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । ती मध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।भारतमा कोरोना भाइरसबाट कुल संक्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिले संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी अरु आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म देशभरी चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी नै रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?