उपत्यकामा १५ दिन कर्फ्यू आदेश जारी गर्न सुझाव

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कफ्र्यु आदेश जारी गर्न सुझाव दिएको बताए । यसै विषयमा कुराकानीमा फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावस्यक सामाग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए । उनले अहिले १५ दिन सम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कफ्र्यु नै उत्तम विकल्प भएको बताए ।

कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए । त्यसका लागि आफु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए । उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरात देखि सकिदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?