चिसिएको सम्बन्ध सुधारको प्रयास, कोरोनाविरुद्ध मिलेर लड्न ओली–मोदी सहमत

काठमाडौं । नेपाल–भारतबीच सीमा विवादका कारण सम्बन्ध चिसिएको बेला प्रधानमन्त्री तहबाट सम्बन्ध सुधारको प्रयास भएको छ । यही क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।

भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसर पारेर ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गर्दै शुभकामना दिएका हुन् ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई, भारतको ७४ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका बताएको छ ।

विज्ञप्तीमा भनिएको छ , ‘प्रधानमन्त्री ओलीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा सधैँ रहने कुरा उल्लेख गर्नुभएको छ ।’
दुई प्रधानमन्त्रीले कोरोना विरूद्को लडाईमा भएका पछिल्ला प्रयासहरूका बारे चर्चा गर्नुका साथै कोरोनाको लडाईमा दुवै देश मिलेर अघि बढ्नेमा पनि सहमति जुटेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी कोभिड १९ को खोपको प्रारम्भिक विकासको आवश्यकतालाई औंल्याउँदै नेपालका प्रधानमन्त्रीले भारतलगायत विश्वभरका वैज्ञानिकहरूले यसको विकास गर्न सक्षम हुने आशा पनि राखेका छन् ।

दुबै प्रधानमन्त्रीले भविष्यमा द्विपक्षीय विषयमा छलफल जारी राख्ने कुरामा सहमति जनाएका छन् ।

साथै, आज बिहान प्रधानमन्त्री ओलीले ट्वीट गर्दै मोदीलाई शुभकामना दिएका थिए । उनले ट्वीटरमा लेखेका छन्, ‘बधाई तथा शुभकामना, प्रधानमन्त्री नरेन्द्र मोदीजी, भारतको ७४ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु ।’

नेपाल भारत सीमा विवादलगायतका विषयमा दुरी बढीरहेको अवस्थामा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसर पारेर फोन संवाद गरेका हुन् ।
यसैबीच भारतीय विदेश मन्त्रालयले पनि एक विज्ञप्तिमार्फत ओलीले मोदीलाई टेलिफोन गरेर बधाइ तथा शुभकामना दिएकोमा आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?