छाउ बार्न बुहारीलाई बाध्यकारी, छोरीलार्इ छुट

कालिकोट, १६ फागुन – कालिकोटको कालिका गाउँपालिका-६ निवासी पवित्रा खत्री छाउपीडित बुहारी हुन्। उनका सासूससुराले बुहारी कहिले महिनावारी हुन्छे भन्नेसम्मको हेक्का राख्छन्। महिनावारी भएको समयमा पवित्रालाई घरभित्र पस्न प्रतिबन्ध जस्तै छ। दैलेख कुसापानी माइती भएकी पवित्रा महिनावारी हुँदा घर पर बनाइएको छुट्टै कोठामा बस्न बाध्य छिन्। महिनावारी हुँदा घरमा बस्दा अशुभ हुने, देवताले नहेर्ने तथा घरमा केही न केही क्षति हुने मान्यता उनका सासू-ससुराको छ। ‘पराइ घरका हामीलाई सासूससुराको भावनात्मक माया कम हुने भएर होला, हामीलाई छाउ बढी नै बार्न बाध्य पारिन्छ,’ पवित्राले पीडा सुनाइन्, ‘आफ्ना छोरीहरू महिनावारी हुँदा सासूससुराको बेग्लै हाउभाउ देखिन्छ, उनीहरूप्रति गरिने व्यवहार पनि फरक हुन्छ।’ अविवाहित छोरी पवित्र हुने मान्यताले होला बुहारीको भन्दा कम छुई हुने विश्वास सासूससुरामा रहेको उनले बताइन्। खाँडाचक्र नगरपालिका-१ निवासी एकल महिला तस्बीरा शाहीको पीडा पनि उस्तै छ। उनको परिवारले पनि महिनावारी भएका बेला खलामा समेत आउन दिँदैनन्। बजारमा होटल व्यवसाय गर्ने उनी घरमा पूजा लगाउँदा छुई छु भनेपछि गरिने व्यवहार अलग्गै हुने उनको अनुभव छ। विवाहअघि आमाहरूले महिनावारी हुँदा धेरै कडाइ नगरेको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?