काठमाडौं । खोलामा डुबेर छुट्टाछुट्टै स्थानमा ४ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ भुसडी बस्ने रामशुभग बिश्वकर्माको छोरा १७ वर्षीय अजय बिकको खोलामा डुबेर बुधबार मृत्यु भएको छ । घरदेखि २ किमी उत्तर पर्ने भुताहा खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-४ बागेडाँगीमा मजदुर काम गरी बस्ने संखुवासभा पोखरी घर भएका ३० वर्षीय सुगम राईको सोही ठाउँस्थित डुबे खोलाले बगाई बुधबार मृत्यु भएको छ । सोही ठाउँस्थित दहिझोडा सामुदायिक वनमा श्रीमती र साथीहरूसँग खोला तर्ने क्रममा बगाएपछि उनको मृत्यु भएको हो ।
साथै, दाङको तुलसीपुर उपमहानगरपालिका-२ टकियापुर बस्ने घनश्याम भण्डारीको छोरा ३ वर्षीय अनमोल भण्डारीको कुलोले बगाई बुधबार मृत्यु भएको छ । घरबाट हराएका उनी खोजी गर्ने क्रममा घर नजिकैको कुलोले बगाई घरदेखि करिब ३ किमी टाढा कोटलपुर कुलोमा मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी, बर्दियाको बाँसगढी नगरपालिका-९ दक्षिणटोल बस्ने तेज बहादुर थापाको छोरा १५ वर्षीय बिनोद थापा सोही नगरपालिका-८ झगौरवा नालामा डुबी मृत अवस्थामा बुधबार फेला परेका छन् । घरबाट निस्किएका उनी साँझसम्म घर नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया