पोखरा । लायन्स क्लब अफ उज्यालो चौतारीले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ ।
पोखरा महानगरपालिका–१ भीमकालीपाटन बगरमा रहेको संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीको लागि क्लबले आफ्ना सदस्यबाट रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरेको क्लबका अध्यक्ष अच्युत शर्माले जानकारी दिए । उनले भने, “अहिले बोर्डिङ स्कूल पढ्ने र उच्चशिक्षाका लागि विदेश जाने संस्कारको विकास भइरहेको छ, संस्कृत शिक्षाको महत्व उजागार हुन नसक्दा मौलिक संस्कार र संस्कृतिसमेत गुमिरहेको छ, यसको महत्वलाई उजागार गर्न संस्कृत शिक्षामा जोड दिन आवश्यक छ, यो सानो प्रयासले संस्कृत भाषा उत्थानमा सहयोग पुग्नेछ ।” उजले अक्षयकोषको रकमको ब्याजले संस्कृत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको अध्ययन खर्चमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
क्लबका सरु गिरीले ‘नेचर द फ्युचर’ भन्ने विषयमा रहेर क्लबले विभिन्न स्कूलमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक खर्च व्यहोर्दै अभिभावकीय जिम्मेवारी ग्रहण गरेको बताए । उनले भने “जहाँ आवश्यकता त्यहाँ लायन भन्ने भनाइलाई आत्मसात गर्दै भविष्यका कर्णधारको खोजी गरेर अध्ययनमा सहयोग गर्दै आएका छौँ ।”
सो विद्यालयका प्रधानध्यापक गोविन्द सिग्देलले स्कूलमा हाल २०० विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए । उनका अनुसार कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ । कक्षा ६ देखि १२ सम्म २०० पूर्णाङ्कको संस्कृत विषय पढ्नुपर्ने हुन्छ भने आवासीय विद्यार्थीले ३०० पूर्णाङ्कको संस्कृत विषयको परीक्षा दिनुपर्ने हुन्छ ।
विद्यालयमा ४० दलित विद्यार्थी छन् । त्यसैगरी ४० प्रतिशत छात्राले संस्कृत विषय अध्ययन गरिरहेका छन् । अक्षयकोषको ब्याज रकमले विपन्न विद्यार्थीका लागि खाजा, स्टेशनरी र पोशाकका लागि खर्च गरिने जनाइएको छ । विद्यालयमा दुई सहयोगी र १८ शिक्षक–शिक्षिका रहेका छन् ।
तत्कालीन राणा प्रधानमन्त्री देवशम्शेरको निगरानीमा विसं १९५८ मा विन्ध्यवासिनी मन्दिर परिसरमा भाषा पाठशालाको रूपमा यस विद्यालयको स्थापना भएको हो । विसं २०१२ तिरबाट भीमकाली पाटनमा स्थानीय पराजुलीहरुले ८० रोपनी जग्गा उपलब्ध गराएपछि उक्त स्थानबाट संस्कृत विषयको पठनपाठन हुँदै आएको छ । उक्त विद्यालयको १० रोपनी जग्गा संस्कृत क्याम्पसले समेत भोगचलन गर्दै आएको छ । क्याम्पसले हाल शास्त्री ९स्नातक० पढाइ गराइरहेको छ भने यसै वर्षदेखि आचार्य (स्नाकोत्तर) को पढाइका लागि भर्ना लिइराखेको प्रअ सिग्देलले जानकारी दिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया