घोडाघोडी । अत्यधिक आवतजावत हुने कैलालीको पहलमानपुर–लालबोझी सडकखण्डमा जताततै खाल्डाखुल्डी हुँदा आवतजावतमा समस्या भएको छ । पहलमानपुरबाट लालबोझी हुँदै हुलाकी राजमार्ग जोड्ने उक्त सडकखण्ड लामो समयदेखि मर्मत नगरिएका कारण सडक जीर्ण बन्दै गएको हो ।
सडकमा सानाठूला खाल्डाखुल्डी हुँदा आफ्ना ससाना बालबालिका डुब्ने हुन् कि भन्ने चिन्ताले सताएको घोडाघोडी नगरपालिका –११ का प्रकाश बुढाले बताउनुभयो । सो सडकखण्डमा दैनिक रूपमा यातायातका साधन घण्टौँसम्म फस्ने गरेका छन् ।
घोडाघोडी– १०,११ र १२ जोड्ने सो सडकखण्डको हालत कहालीलाग्दो अवस्थामा पुगेको छ । सडकमा परेका खाल्डाखुल्डीमा पानी भरिँदा पैदल यात्रा गर्न पजि असहज हुने गरेको घोडाघोडी–११ का बुधराम कठरियाले बताए ।
ठूलाठूला खाल्डाखुल्डीका कारण अटो, एम्बुलेन्सलगायत साधन घण्टौँसम्म फस्ने गरेको घोडाघोडी–११ का पहाडीलाल कुश्मीले बताउनुभयो । सडक हिलाम्य भएपछि आवतजावतमा निकै सास्ती भएको कुश्मीको भनाइ छ ।
घोडाघोडी नगरपालिकाले पहलमानपुर – लालबोझी सडकखण्ड मर्मत गर्नका लागि कोटेशनमार्फत जेभी निर्माण सेवा पहलमानपुरलाई पाँच लाखको ठेक्का दिइसकेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार सडक मर्मतको काम छिट्टै शुरु हुने छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया