कुम्मायकमा सडक मर्मतको जिम्मा स्थानीयवासीलाई

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकाले ग्रामीण सडकहरु मर्मतको जिम्मा स्थानीयवासीलाई दिने नीति ल्याएको छ ।

विगतका तीन आर्थिक वर्षमा ठूलो आर्थिक लगानीमा सडकको ट्र्याक खोलिए पनि अधिकांश सडकमा नियमित मर्मत गरेमात्रै सवारी सञ्चालन गर्न सकिने भएपछि गाउँपालिकाले यस्तो नीति लिएको हो ।

स्थानीय ग्रामीण सडकलाई बाह्रै महिना सवारी सञ्चालनयोग्य बनाउन विशेष कार्यक्रम आवश्यक परेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । सडकको स्थानीयस्तरमै मर्मतसम्भार र संरक्षणका लागि टोलस्तरमा समिति गठन गरिनेछ । टोलस्तरीय समितिले सडक मर्मतमा जनसहभागिता जुटाउन सहयोग गर्नेछन् ।

सडकको मर्मतका लागि मासिकरूपमा श्रमदान गर्ने प्रबन्ध मिलाइने अध्यक्ष चेम्जोङले बताए । “कोभिड–१९ को महामारीपछि उत्पन्न परिस्थितिमा सडकमा ठूलो लगानी गर्न सकिने अवस्था छैन, समानीकरण र राजश्व बाँडफाँडमा प्राप्त हुने बजेटसमेत घटेको छ”, अध्यक्ष चेम्जोङले भने, “सडक मर्मत नगरे सवारी नचल्ने भएकाले स्थानीयवासीलाई जिम्मेवार बनाउन लागेका हौँ ।”

गाउँपालिकाले मुख्य सडकहरुको ट्र्याक खोल्ने काम करिब सम्पन्न भएको जनाउँदै अब मुख्य लगानी आवश्यक पर्ने उत्तरे–यासोक–लुमुघाट सडक कालोपत्रलाई प्राथमिकतामा राखी लगानी जुटाउन पहल गर्ने भएको छ ।

उक्त गाउँपालिकाले २० लाख रुपैयाँ भन्दा बढी लागतका सडकलगायत संरचना निर्माण गर्दा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी ठेक्का प्रक्रियामार्फत अगाडि बढाइने नीतिसमेत सातौँ गाउँसभाबाट पारित गरेको छ ।

गाउँपालिकालाई फिदिमसँग जोड्ने सरखण्डे–यासोक सडक कालोपत्र शुरु भएपछि गाउँपालिकाले प्रदेश सरकारसँगको सहलगानीमा बगाले चिहान–३ वडा कार्यालय सडक र तिङ्देन स्वास्थ्यचौकी भवन निर्माण गर्न प्रस्ताव गरेको अध्यक्ष चेम्जोङले बताए। खानेपानी, सडकलगायत क्षेत्रमा आउने भइपरी समस्या समाधानका लागि गाउँपालिकाले छुट्टै कोषसमेत खडा गरेको छ ।

सुक्खाबाट प्रभावित कुम्मायक गाउँपालिकाले आर्थिक विकास एवं रोजगारी प्रवर्द्धन, पूर्वाधार विकास र शिक्षा तथा स्वास्थ्य क्षेत्रको सबलीकरणमा जोड दिई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरेको छ ।

स्थानीय आवश्यकता, विगतमा गरिएका प्रतिबद्धता तथा घोषणा, सङ्घ र प्रदेश सरकारका घोषित नीति तथा कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्पन्न परिस्थितिका आधारमा रही नयाँ नीति तथा कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष चेम्जोङले बताए।

‘कुम्मायक गाउँपालिकाको समृद्धिको आधारः कृषि, पर्यटन, भौतिक पूर्वाधार र रोजगार’ भन्ने गाउँपालिकाद्वारा तय नीतिलाई मूर्तरूप दिन तथा गाउँपालिकावासीलाई परिवर्तन र विकासको अनुभूति दिलाउने प्रयाससहित नयाँ नीति तथा कार्यक्रम तय भएको अध्यक्ष चेम्जोङको भनाइ छ । अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा रकम विनियोजन गर्ने गाउँपालिकाको प्रयास रहेको उनको भनाइ छ ।

गाउँपालिकाले कोभिड–१९ को प्रकोपका कारण गाउँ फर्केका युवाहरुलाई लक्षित गरी उद्यमशीलता विकासका लागि किस्ताबन्दीमा आर्थिक प्रोत्साहन उपलब्ध गराउने भएको छ । यस्तै नयाँ उद्यमी सिर्जना कार्यक्रमसमेत गाउँपालिकाले सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष चेम्जोङले बताए ।

सुक्खा प्रभावित यस गाउँपालिकामा कपास, बेसार, अदुवा र बेमौसमी तरकारी खेती प्रवर्द्धन गरिने भएको छ । यस्तै बाख्रापालन, स्थानीय कुखुरापालन र बङ्गुरपालनका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

दैनिक रोजगारी गुमाएका व्यक्तिका लागि गाउँपालिकाले श्रममा आधारित रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाभित्र सञ्चालन हुने विकासका कार्यमा उनीहरुलाई श्रममा लगाई उचित पारिश्रमिक दिई रोजगारीको प्रत्याभूति गरिने अध्यक्ष चेम्जोङले सातौँ गाउँसभामा प्रश्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत प्रभावकारी तुल्याई लामो समय रोजगारी दिन सक्षम एवं उपयुक्त बनाउने गाउँपालिकाको प्रयास छ ।

बालमैत्री गाउँपालिका निर्माणलाई समेत कुम्मायकले प्राथमिकता राखेको छ । यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक तथा प्राविधिक सहयोग गर्ने, विद्यालयको पहुँचभन्दा बाहिर रहेका तथा समस्यामा रहेका बालबालिकाको पठनपाठनको हक सुरक्षित गर्न आवासीय विद्यालय सञ्चालन गर्ने कुम्मायकको तयारी छ । गाउँपालिकाले फुसको छानो हटाउने तथा विपन्न परिवारको घर निर्माण गर्ने कार्यक्रममा सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ ।

गाउँपालिकाले सूचना प्रविधिको प्रयोगमा जोड दिने, व्यक्तिगत घटना अनलाइन माध्यमबाट दर्ता गराउने, पुराना अभिलेखलाई डिजिटल प्रविधिमा ढाल्ने, गरिब परिवार परिचयपत्र वितरणलाई निरन्तरता दिने, गाउँपालिकाको प्रशासनिक कामलाई प्रतिफलयुक्त र प्रविधिमैत्री बनाउन सफ्टवेयर र उपकरणको प्रबन्ध गर्ने, लामो समयदेखि तिर्न बाँकी कर तिरे कर छुट दिने व्यवस्था गर्ने, प्रशासनिक कामका लागि घुम्ती शिविर आयोजना गर्ने नीति तय गरेको अध्यक्ष चेम्जोङले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?