पैदल आवागमन खुल्ला गर्दै सरकारले नागरिकसँग गर्‍यो यस्तो अनुरोध

काठमाडौं – सरकारले व्यक्तिहरुको पैदल आवागमन खुल्ला गरेको जनाएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन (भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न ) सबैसँग अनुरोध गरेको छ ।

सरकारले आगामी असार १ गतेदेखी लकडाउनको मोडालिटी परिवर्तन गर्ने मोडालिटी अन्र्तगत लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसमा निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।
यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टर स्टोरहरु खुला गरिएको खतिवडाले बताए । तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना चढ्न रोक लगाएको छ ।

यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा सञ्चालन निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोर बिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइनेछ ।

यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने सरकारी निर्णय छ । यस्तै नर्सरी र बनजन्य व्यवसाय, विकास आयोजना, निजी क्षेबाट प्रवर्द्धित आयोजना पनि निर्वाध रुपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ ।

यसैगरी रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?