सरकारको बजेट पार्टीको चुनावी घोषणा विपरीत: भीम रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले सरकारको बजेट पार्टीको चुनावी घोषणा विपरीत रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा उनले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य र नेकपाको घोषणपत्र सँग सरकारको बजेट मेल नखाएको बताएका हुन् । विद्युतीय सवारी साधनलाई निरुत्साहीत गर्नु, चकलेटको भन्सार घटाउने र मलको भन्सार बढाउने लगायत बजेटमा भएका विषय समाजवाद उन्मुख नीति विरुद्ध रहेको तर्क उनले गरे ।

उनले भने “यो बजेट जुन नीति तथा कार्यक्रमबाट निर्देशित छ, नेपालको संविधानको समाजवाद उन्मुख नीति र त्यसमा लोककल्याणकारी राज्यका सिद्धान्तहरु, स्वयं यो सरकारको नेतृत्व गरिरहेको नेकपाको चुनावी घोषण पत्रमा आधारित भएर अगाडि बढ्नेछ भन्ने मैले कतै पढेको थिएँ तर केही उदाहरणहरु त्यो नीतिको विपरीत पाएँ । ”

सेतो सफा कागजमा कतै कालो दाग देखियो भने त्यो सानै भएपनि टाढैबाट देखिने भन्दै उनले बजेटमा कयौँ राम्रा विषय भएपनि देश र जनताको हितमा ध्यान दिनै पर्ने विषयहरु छुटेको टिप्पणी गरे । कोरोना महामारी नियन्त्रणका राम्रा कार्यक्रम भएपनि स्वास्थ्य उपकरण, जनशक्ति, साधन, स्रोतको अभावमा कतिपय जिल्लाहरुमा परीक्षण बन्द भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले कोरोना नियन्त्रणका लागि भन्दै सरकारले सेना परिचालन गरेको विषय बारे पनि प्रश्न उठाउनुभयो । उनले प्रश्न गरे “सेनालाई परिचालन गर्दा विपद व्यवस्थापन ऐन अन्र्तगत परिचालन गरिएको हो कि होइन ?”

उनले कृषिमा पर्याप्त बजेट नभएको, भारतबाट अतिक्रमित नेपाली भूभागमा निर्माण गर्नुपर्ने पुर्वाधारका लागि बजेट बिनियोजन नभएको तथा निजी विद्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था कसरी गरियो भनी प्रश्न गरे । उनले बजेट कार्यान्वय गर्दा पार्टीको नीति संग र राष्ट्रियत, स्वाधीनता, सार्वभैमसत्ता, अखण्डता, स्वभिमान, देशको समृद्धि, आत्मनिर्भर अर्थतन्त्रसंग मेल नखाने कुराहरुलाई कार्यान्वय गर्दा सरकारले ध्यान दिने अपेक्षा आफुले गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?