काठमाडौं । नेपालमा हालसम्म कोरोनाको कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शनिवार नियमित पत्रकार सम्मेलनमा थप २ जनाको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा डोल्पा जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिला रहेकी छिन् ।
डोल्पाका ५८ वर्षीय पुरुषको गत जेठ २१ गते मृत्यु भएको थियो ।
मृत्यु पश्चात उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
गत जेठ १८ गते नेपालगञ्ज,सुर्खेत,जुम्ला हुँदै डोल्पा पुगेका उनको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइएको थियो । तर मृत्यु पछि गरिएको आरडीटी परीक्षणमा भने उनको रिपोर्ट पोजेटिभ पाइएको छ ।
मन्त्रालयका अनुसार उनी लामो समयदेखि दमको रोगी रहेका थिए ।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट धनगढीकी ४ की एक महिलाको मृत्यु भएको छ । डायलाईसिसको उपचार गराईरहेकी उनको जेठ १३ गते मृत्यु भएको हो । सेती प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
नेपालमा आज (शनिवार) मात्र ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३२३५ पुगेको छ ।
हालसम्म ३६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै आज मात्र थप ३२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया