कर्णालीका ७ जना कोरोना जितेर घर फर्किए, मन्त्री रावलले दिए बधाई

एलपी पौडेल / सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ७ जना निको भएर घर फर्किएका छन् । कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई शुक्रवार डिस्चार्ज गरिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।

प्रदेश अस्पतालका कोरोना रोग फोकल पर्सन डा केएन पौडेलका अनुसार आज डिस्चार्ज हुनेहरूमा १ जना दैलेखका, ५ जना सुर्खेतका र एक जना ठेगाना नखुलेका बोल्न नसक्ने रहेको बताए ।

कोरोनालाई जित्नेहरुमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानीका १६ वर्षीय युवक, वडा नम्बर ३ तातापानीका २६ वर्षीय युवक, वडा नं ८ का १७ वर्षे युवा, वडा नं. ४ का ३७ वर्षे पुरुष, वडा नं ९ लाटीकोइलीका ११ वर्षे बालक र महाबु गाउँपालिका १ दैलेखका २६ वर्षीय पुरुष रहेका छन्। भने एकजना महिलाको नाम र ठेगाना अस्पतालले खुलाएको छैन ।

कर्णालीमा शुक्रवारसम्म ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । भने २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यसैबीच कोरोना जितेर घर फर्किजेहरूलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बधाई दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “कर्णालीमा पहिलोपटक आज ७ जनाले कोरोना भाइरसलाई जितेर प्रदेश अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँहरु सबैलाई बधाई छ । डिस्चार्ज भएका युवाले दिनु भएको अभिव्यक्ती हामी सबैका लागि प्रेरणादायी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?