कर तिर्ने सरकारी उर्दीमा देउवाको यस्तो विज्ञप्ति

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउन कायमै रहेका बेला सरकारले जेठ २५ भित्र व्यवसायीलाई कर तिर्न गरेको निर्देशनको भद्र अवज्ञा गर्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले कर तिर्न गरेको ताकेता फिर्ता लिन सुझाव दिँदै बजारको स्थिति बुझेर पनि बुझपचाएको र नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।

उनले करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको भएपनि जिम्मेवारी पुरा नगरेर अनुदार भएको टिप्पणी पनि गरेका छन् ।

‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नु भन्दा अर्को विकल्प नागरिकको रहंदैन’देउवाले विज्ञप्तिमा भनेका छन् ।

उनले कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितब्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर नभएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?