कोरोना जितेका वलीले भने ‘नौ दिनमै म ठीक भएँ’

काठमाडौं । काठमाडौंमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण रहेकाका तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्केका छन् । काठमाडौंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्केका वलीलाई रक्षाचौरस्थित क्वारेन्टाइनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे ।

‘‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई ’’, नगर प्रमुख पाण्डेले भने । उनले कोरोनालाई उच्च मनोबल बनाए सजिलै जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन पनि उनलाई आग्रह गरे ।

नगर प्रमुख पाण्डेले वलीलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गरेका थिए । लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बसेका ४६ वर्षीय वलीलाई त्यही बेला कोरोना संक्रमण देखिएको हो । स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुर्‍याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उनले आफ्नो अनुभव बताए ।

यही जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाउनुभएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताए । ‘‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ’’, उनले भने ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?