कारागारमा उच्च सतर्कता

घोराही । कोरोना सङ्क्रमणको जोखिम कम गर्न दाङको घोराहीमा रहेको कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागारमा थपिने कैदीबन्दीलाई क्वारेन्टाइनमा राखेर मात्रै लैजाने गरिएको तथा भेटघाटमा रोक लगाइएको छ ।

घोराही कारागारमा पाँच जना अट्ने क्वारेन्टाइन निर्माण गरिएको कारागारका जेलर विष्णु पाण्डेयले जानकारी दिए। बन्दाबन्दी शुरु भएपछि कारागारमा तीन कैदीबन्दी थपिएका छन् । उनीहरुलाई कारागारकै क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षणपछि मात्र कारागार चलान गरिएको उनले बताए। घोराही कारागारमा २८५ कैदीबन्दी छन् ।

यसैगरी तुलसीपुर कारागारमा पनि सतर्कता अपनाइएको जेलर युवराज परियारले जानकारी दिए । उनका अनुसार कारागारमा थपिने कैदीबन्दीलाई राख्नका लागि क्वारेन्टाइन निर्माण नगरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै राख्ने गरिएको छ ।

चार सय ६५ कैदीबन्दी रहेको कारागारमा ३२ महिला, ११ विदेशी र चार बालबालिका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?