अर्घाखाँची । अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुई जना तथा गुल्मीका दुईमध्ये एक जना भारतबाट फर्किएका युवा हुन् । संक्रमित अर्का भने स्थानीयवासी युवक हुन् ।
अर्घाखाँचीमा संक्रमण देखिएका व्यक्ति यही जेठ २ गते भारतको रायबरेली भन्ने ठाउँबाट पैदलै हिँडेर गृह जिल्ला आइपुगेका हुन् ।
जिल्ला आउनासाथ उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टाइनमा राखिएको थियो ।
भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए।
संक्रमण देखिएका दुबैको स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखापरेको हो । उनीहरुसंँगै आएका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
जिल्लामा पछिल्लो एक सातामा भारत तथा छिमेकी जिल्लाबाट आउने एक हजार ६२२ पुगेका छन् ।
रोजगारीका सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिमले रोजगारी गुमाउन थालेपछि धमाधम गृह जिल्ला फर्किन थालेका छन् ।
पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७९, भूमिकास्थान नगरपालिकाका ४०९, शीतगंगा नगरपालिकाका ५०१, पाणिनी गाउँपालिकाका ११६, मालारानी गाउँपालिकाका ३२१ र छत्रदेव गाउँपालिकाका ९६ जना जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए। बाहिरबाट आएका सबैलाई स्थानीय पालिकाका क्वारेन्टाइनमा राखिएको छ ।
गुल्मी –संक्रमण पुष्टि भएका धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुष १० दिनअघि भारतबाट आएका हुन् ।
उनलाई अन्य रोग पनि देखिएपछि शनिवार पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा सोमबार साँझ कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको हो ।
उनीसँगै रहेकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनी विद्यालयको क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।
संक्रमण पुष्टि भएका अर्का ३६ वर्षीय पुरुषलाई भने कोरोना कसरी लाग्यो भन्ने स्रोत खुलेको छैन । धुर्कोट गाउँपालिकाकै अर्का एक जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।
पुरुषको सम्पर्कमा आएका जिल्लाका विभिन्न ठाउँका थप ४० जनाको सोमबार अबेरसम्म लगाएर स्वाब संकलन गरिएको छ ।
संकलित स्वाब आज पठाउने तयारी भइरहेको आचार्यले जानकारी दिए । यससँगै गुल्मीमा कुल चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भइसकेको छ भने ३१ वर्षीय पुरुषको भने आइसोलेसनमा उपचार भइरहेको छ ।
प्युठानमा भारतबाट आएकाको नेगेटिभ
झिमरुक– भारतबाट आई स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसेका माण्डवी गाउँपालिकाका १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वडा नं ३ माण्डवी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाको नेगेटिभ आएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताए ।
पालिकाको वडा नं ५ रम्दीका उनीहरुको भारतबाट आएको छैटौँ दिनमा पिसिआर परीक्षण गरिएको र उनीहरुलाई १४ दिनपछि घर पठाइने जनाइएको छ ।
त्यस्तै माण्डवी पालिकामा कार्यरत स्वास्थ्यकर्मी, देवीस्थान प्रहरीचौकीका इञ्चार्ज र जिल्ला ट्राफिक इञ्चार्ज गरी चार जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको गाउँपालिका अध्यक्ष रोकाले बताए ।
यस्तै ऐरावती गाउँपालिकामा भारतबाट आएका सात व्यक्तिको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।
ऐरावती २ मोती माध्यमिक विद्यालय बरौलामा बस्दै आएका सात जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए ।
दाङमा १४ कोरोनामैत्री एम्बुलेन्स
तुलसीपुर– दाङमा १४ कोरोनामैत्री एम्बुलेन्सबाट सेवा प्रदान गरिँदै आएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना संक्रमित ओसारपसार, आशंकित बिरामी, क्वारेन्टाइन प्रयोगका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।
उनका अनुसार तुलसीपुर क्षेत्रमा चार तथा घोराही र लमही क्षेत्रमा पाँचपाँच एम्बुलेन्सलाई कोरोनामैत्री बनाइएको छ ।
तुलसीपुर क्षेत्रका पवननगर, फूलबारी, विजौरी स्वास्थ्यचौकी र तुलसी अस्पतालमा एम्बुलेन्स छन् ।
त्यस्तै घोराही क्षेत्रमा नारायणपुर स्वास्थ्यचौकी, मितेरी हस्पिटल प्रालि, दाङदेउखुरी समाज, लायन्स क्लब अफ राप्ती अम्बिकेश्वरी र रोल्पाली सेवा समाजको एम्बुलेन्सलाई प्रयोग गरिएको छ ।
यसैगरी लमही क्षेत्रमा लमही अस्पताल, देउखुरी उद्योग वाणिज्य संघ तथा सिसहनिया, गढवा र राजपुर स्वास्थ्यचौकीको एम्बुलेन्सलाई प्रयोगमा ल्याइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले भने, “अहिले १४ वटा कोरोनामैत्री एम्बुलेन्सबाट काम चलाइरहेका छौंँ, आवश्यक परेमा थप एम्बुलेन्सलाई पनि कोरोनामैत्री बनाएर प्रयोग गर्ने छौँ ।” अहिले जिल्लामाा दशै स्थानीय तहमा एम्बुलेन्स प्रयोग गर्ने गरिएको चन्दको भनाइ छ । जिल्लामा ७१ एम्बुलेन्स सञ्चालित छन् ।
आइसोलेसनको तयारी
शान्तिनगर गाउँपालिकाले १० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले गाउँपालिकाले आइसोलेशन स्थापना गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए ।
तुलसीपुर उपमहानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरेर क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।
तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलद्वारा सञ्चालित नर्सिङ तथा एचए कलेजमा ५० शय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।
अस्पतालका प्रबन्धक जीवन भण्डारीका अनुसार हस्पिटलले तुलसीपुर ६ मोतीपुरमा सञ्चालित कलेजको भवन क्वारेन्टिन सञ्चालनका लागि उपमहानगरपालिकालाई उपलब्ध गराएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया