काठमाडौं । ४ वर्ष अघि ल्याइएको सफा नोट नीतिलाई लागू गर्दै नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थालाई सफा नोटहरु मात्रै बजारमा पठाउन पाउनेगरी नयाँ व्यवस्था लागू गरेको हो ।
आइतवार परिपत्र जारी गर्दै बैंकहरुले झुत्रिएको, मक्काएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रङ लागेको र पूर्व राजाको तस्वीर भएको चित्रलाई समेत चलनचल्तीका लागि अयोग्य हुने जनाएको छ ।
बैंकहरुले आफूसँग प्राप्त हुन आएको रकमलाई मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा छुट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
राष्ट्र बैंकले त्यस्तो क्लिप गर्ने बैंकका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरेको जनाएको छ ।
साथै रातो क्लिप भएका नोटलाई बजारमा पठाउन नपाइने व्यवस्था गरेको छ। यस्तो नोटलाई राष्ट्र बैंकमा खाता भएकाले राष्ट्र बैंकमा र राष्ट्र बैंकमा खाता नभएका वित्तीय संस्थाले आफ्नो खाता भएको बैंकमा नोट बुझाउनुपर्ने राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था अनुसार अब नोटमा बैंकहरुले स्टिच गर्न नपाउने भएका छन्। साथै राष्ट्र बैंकले रबर, प्लाष्टिक रबर र पेपर बैण्डको प्रयोग गर्न पाइने व्यवस्था गरेको छ ।
बजारमा पठाउन योग्य नोटलाई अनिवार्य रुपमा संक्रमण हित बनाउन समेत राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । साथै राष्ट्र बैंकले नोट राख्ने दराज, भल्ट, फर्निचर वा नोट ओसारपसार गर्ने सामाग्री पनि सफा हुनुपर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया