काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका राष्ट्रियसभाका लागि संसदीय दलका नेता राधेश्याम अधिकारीले सरकारको नीति तथा कार्यक्रम वर्तमान संकट समाधान गर्ने दृष्टिले अपुरो भएकाले पुर्नलेखन गर्नुपर्ने बताए । कोभिड विरुद्धको महामारी रोकथाम तथा नियन्त्रण र आर्थिक संकट समाधानका लागि सबै दलहरुबीच राष्ट्रिय एकता हुनुपर्नेमा आफुहरुको विमति नभएको भन्दै उनले अपुरो दस्तावेजलाई पुरा गर्न मात्रै माग गरेको बताए ।
मौलिक अधिकारका कानुन कार्यन्वयन हुन नसकेको भन्दै उहाँले लोकतन्त्रमा नागरिकको अधिकार प्रत्याभुति हुन नसकिरहेको कुरा सरकारले स्वीकार गर्नसक्नुपर्ने बताए । उनले भने “दुईवटा अध्यादेश आए अनि ४ दिनपछि फिर्ता लिईयो । के त्यो लोकतन्त्र अनुकुलका हुन् ? लोकतन्त्रलाई बलियो बनाउन ल्याएको हो ?”
स्थानीय सरकारलाई दिनुपर्ने एकल अधिकार नदिएकाले स्थानीय सरकारको गुनासो संघीय सरकारप्रति बढ्दै गएको भन्दै ती विषयलाई पनि सरकारको नीति तथा कार्यक्रमले समावेश गर्न नसकेको टिप्पणी गरे । राजनीतिक व्यवस्थापनका लागि अंकगणितको राजनीति भन्दा एक कदम अघि बढ्नुपर्ने भन्दै उनले नीति तथा कार्यक्रममा राजनीतिक व्यवस्थापन र राजनीतिक स्थिरता छ भन्नु गलत भएको टिप्पणी गरे ।
सरकारले समानुपातिक समावेशी सिद्धान्तलाई अनुसरण गर्न नसकेको, राजनीतिक विचलनमा सरकार खरो उत्रन नसकेको , कोभिड १९ संक्रमणको स्थितिको प्रक्षेपण गर्न नसकिएको ,भेन्टिलेटर लगायतका स्वास्थ्यतयारी गर्न नसकेको आरोप लगाए ।
उनले संक्रमणको दृष्टिले जोखिमपुर्ण क्षेत्रमा स्वास्थ्य सामाग्री नपुग्नु, महामारीको समयमा किनेको सामानमा आर्थिक अनियमितता हुनु, शिक्षामा योजना नआउनु, रेमिट्यान्स लगायत कृषि उत्पादन वृद्धिको योजना नहुनु लगायतले नीति तथा कार्यक्रम पुर्ण हुन नसकेको टिप्पणी गरे ।
उनले भने “शिक्षामा के तयारी छ सरकारको ? शिक्षामा सरकारले के गर्दैछ भनेर प्रक्षेपण गर्नुपरेन ? अनलाईन पढाउन भनेको छ । अनलाईनलाई कत्रो तयारी चाहिन्छ, अन्दाज छ ? कतिले पढाउछन् अनलाईनमा ? कतिको पहुँच छ अनलाईनमा ? जे मनमा लाग्या छ त्यही भन्दिएको छ ।”
उनले कृषि क्रान्ति गर्ने हो भने कृषि उत्पादनको मुल्य निर्धारणको प्रत्याभुति, खरिद गरेर भण्डारण गर्ने, वितरण र बजार प्रत्याभुति तथा अनुदान र राहतको व्यवस्था गर्नुपर्ने सुझाव दिए । उनले भारतीय सिमामा अलपत्र परेका नेपालीलाई पनि सरकारले समान व्यवहार नगरेको भन्दै आक्रोश पोखे “दुईमहिना सम्म कुम्भकर्ण निन्द्रामा सुत्ने ? पुर्वमा झापा नजिकै १२ सय ५० नेपाली अलपत्र परेका रहेछन् । तीनलाई ल्याउने प्रबन्ध मिलाईयो ।
भैरहवा नाकामा ७ सय ५० नागरिकलाई धपाईयो भन्ने पनि हिजोको खबरमा छ । नेपाल राज्यमा एउटा सरकार छ कि दुईवटा सरकार छ ? प्रधानमन्त्रीको जिल्ला भएको हुनाले त्यो छुट ? अनि भैरहवाको नाकामा खिमलाल जीको जिल्ला भएको हुनाले नछुट भएको हो कि ? सुदुरपश्चिममा त झन बेहालै छ । यो मैले भन्ने हो ? सोधौ आ-आफ्ना माननीयलाई ?”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया