सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र आवश्यकता अनुकुल छ : दिनानाथ शर्मा

काठमाडौं । राष्ट्रिय सभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल रहेको बताए ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा धारणा राख्दै उनले राष्ट्रिय आवश्यकता ,सोचाईको धरातल र उचाईका आधारमा सरकारको नीति तथा कार्यक्रम केही ठूलो र विस्तृत भएको बताए । सरकारको सोचको उचाई अनुसार नीति तथा कार्यक्रम पनि ठूलो भएको उनले स्पष्ट पारे । उनले लोकतान्त्रिक मुल्य मान्यताको वस्तुगत धरातल, वर्तमान आवश्यकतालाई संम्बोधन, समाजवाद उन्मुख, राष्ट्रिय हित, राष्ट्रिय स्वभिमान र सार्वभौमसत्तालाई आत्मसाथ गरेकाले नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल भएको दाबी गरे ।

उनले बुँदा नम्बर २६९ मा उल्लेख गरिएको प्रतिवद्धता अनुसार सरकारले सोमबार नया नक्सा जारी गर्ने निर्णय गरेर नीति तथा कार्यक्रममा उल्लेखित प्रतिवद्धता सम्बोधन गरेको भन्दै उनले सरकारको बचाउ गरे । लोकतन्त्र दर्शन र सिद्धान्त मात्रै नभई जीवन व्यवहार भएकाले नीति तथा कार्यक्रमले जीवन व्यवहारलाई सम्बोधन गरेको दाबी उनले गरे ।

बुँदा नम्बर २७३ र २७४मा सरकारले प्रतिवद्धता जनाएका विषय कार्यान्वय गर्ने राष्ट्रिय संकल्प गरेको भन्दै उनले सरकारले कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने र महामारीबाट प्रभावित सामाजिक आर्थिक क्षेत्रहरुलाई पुनर्जीवन दिई विकास निर्माणलाई तिब्रता दिने विश्वास दिलाए ।

उनले सरकारको नीति तथा कार्यक्रमका विपक्षमा विचार राखेर प्रतिपक्षले धर्म निर्वाह गरेको टिप्पणी पनि गरे । नीति तथा कार्यक्रमलाई पुर्नलेखन गर्नुपर्छ भन्नु निषेधको राजनीति भएकाले त्यसो गर्नु उपयुक्त नहुने भन्दै प्रतिपक्षी दललाई संशोधन प्रस्ताव फिर्ता लिन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?