राहत माग्न आउने श्रमिकलाई गाउँपालिकाले दियो रोजगारी

काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकाले राहत माग्न आउने श्रमिक वर्गलाई रोजगारी दिन शुरु गरेको छ । बन्दाबन्दीका बेला समस्या परेका मजदुरलाई दैनिक गुजारा चलाउन समस्या नहोस् भन्ने उद्देश्यले श्रमिकलाई विभिन्न खालका विकास निर्माणका काम गर्ने गरी रोजगारी दिन शुरु गरेको गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले बताए । बन्दाबन्दीका बेला रोजगारी गुमाउँदा दैनिक गुजारा चलाउन समस्या परेको भन्दै राहत माग्न आउनेलाई गाउँपालिकाले रोजगारी दिन शुरु गरेको उनको भनाइ छ ।

“बन्दाबन्दीका बेला काम खोसिएका श्रमिकलाई पहिलो चरणमा गाउँपालिकाले पर्यटन पदमार्ग निर्माणको काम दिएको छ”, उनले भने, “त्यो काम सकिएपछि अर्को ठाउँमा विकास निर्माणकै काम उहाँहरुलाई परिचालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।” बन्दाबन्दीले समस्यामा परेका श्रमिक, विपन्न, व्यक्तिलाई पहिलो चरणमा राहतस्वरुप गाउँपालिकाले खाद्यान्य वितरण गरेको भए पनि अब श्रममा आधारित राहतलाई प्राथामिकता दिइने अध्यक्ष धितालले बताए ।

श्रमिकलाई रोजगारी दिनका लागि गाउँपालिकाले नागेपोखरी जाने पर्यटन पदमार्गका लागि बजेट विनियोजन गरी काम शुरु गरेको उनले जानकारी दिए । “नागेपोखरी, निम्चेपोखरीसम्म जाने पर्यटन पदमार्गका लागि गाउँपालिकाले रु ७० लाख विनियोजन गरेको छ”, गाउँपालिका अध्यक्ष धितालले भने “यो बजेटबाट पदमार्ग बनाउँदा गाउँका असङ्गठित क्षेत्रका श्रमिकले रोजगार पनि पाउने छन् र पदमार्ग पनि निर्माण हुनेछ ।”

उनले निर्माणमा खटिएका श्रमिकलाई जिल्लामा निर्धारित दरभाउअनुसार दैनिक ज्याला निर्धारण गरेको बताए । “अदक्ष जनशक्तिलाई आठ घण्टाको रु ७६० का दरले ज्याला दिने निर्णय गरी श्रमिकलाई काममा परिचालन गरेका छौँ”, उनले भने, “बन्दाबन्दीको अवधिमा पनि यसले विकास निर्माणको कामलाई अघि बढाउन सजिलो भएको छ ।” काम गर्दा उनीहरुलाई सामाजिक दूरी कायम गर्न भनिएको अध्यक्ष धितालले जानकारी दिए ।

उक्त पदमार्ग निर्माणका लागि अघिल्लो वर्ष खर्च गर्न नसकेको बजेट यो वर्ष भने श्रमिकको अभाव नभएपछि सजिलो भएको बताए । “उहाँहरुलाई रोजगारी चाहिएको छ, गाउँपालिकालाई विकास निर्माणको काम गर्न श्रमिक चाहिएको छ”, अध्यक्ष धितालले भने, “यसले दुवै पक्षको आवश्यकता पनि पूरा गर्ने र विकास निर्माणको काम पनि हुने हुँदा अहिले समय पनि महत्वपूर्ण भएको छ ।”

गाउँपालिकाले पहिलो चरणमा ५० जनालाई रोजगारी दिएको उनको भनाइ छ । उक्त पदमार्ग करिब २० किलोमिटर लामो रहेको छ । पदमार्ग निर्माणका लागि निश्चित दूरी कायम गरिएको छ । एउटा समूहमा १० भन्दा बढी रहन नपाउने गरी काममा लगाइएको अध्यक्ष धिताललेले बताए । पहिलो चरणमा रोजगारी दिइएकालाई निश्चित दिनपछि फिर्ता पठाउने र अर्को समूहलाई सोही काममा लगाउने योजना गाउँपालिकाले बनाएको उनले बताए ।

गाउँपालिकाले पहिलो चरणमा राहत दिएका ४८० जनालाई दोस्रो चरणमा रोजगारी दिने गरी काम थालेको अध्यक्ष धितालले जानकारी दिए । “केही दक्ष मिस्त्री थप्ने योजनामा गाउँपालिका रहेको छ”, उनले भने, “त्यसबाहेक सबै श्रमिक बन्दाबन्दीको बेला पहिलो चरणमा राहत लिएका मात्र हुनेछन् ।” गाउँपालिकाले बन्दाबन्दीका कारण समस्यमा परेका श्रमिकलाई रोजगारी दिएर नागेपोखरीमा काठैकाठको प्रयोग गरी पर्यटन सूचना केन्द्र बनाउने योजना बनाएको अध्यक्ष धितालले जानकारी दिए । रोजगारी पाएसँगै श्रमिक पनि खुशी भएका उनको भनाइ छ ।

रासस

साङ्केतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?